सङ्खुवासभाको ‘सामूहिक हत्या’ : यसरी हुदैछ अनुसन्धान !

alt
  • भदौ २२, २०७८
  • अपराध न्यूज

सङ्खुवासभाको मादीमा सोमबार एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’ को अनुसन्धानको मंगलबार बिहानबाट बल्ल सुरु भएको छ । घटना अनुसन्धानको लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोली सोमबार अबेर राती पुगेपछि र पानी परेका कारण अनुसन्धान सुरु हुन सकेको थिएन ।

तर मङ्गलवार बिहानैबाट अनुसन्धानको प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी जानकारी दिए । एसपीसाँवको टोली राती अबेर आइपुग्नु भयो, अनुसन्धानका केही काम सुरु गरेका थियौ तर पानी परेका कारण समस्या भयो र अहिले बिहानै बाट पूर्ण रूपमा अनुसन्धान सुरु गरिएको सुवेदीले बताए ।

यसरी हुदैछ अनुसन्धान

पहिलो चरणमा घटनास्थलमा हुन सक्ने सबुत प्रमाण सङ्कलनको लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई अपराध स्थलमा परिचालन गरी ‘डग स्निफिङ’  गरिने छ । तर राती पानी परेर घटनास्थलमा हुन सक्ने सबुत प्रमाण नष्ट हुनसक्ने जोखिम देखिएको छ । घटनास्थलमा अपराधीहरूले छाडेको कुनै सबुत प्रमाण यदि पानीले भिजेको खण्डमा ‘ट्रयाकर’ डगले त्यसलाई ‘स्निफिङ’ गर्न सक्दैन ।

पानी परे पनि घटनास्थलमा पुगेको प्रहरीको पहिलो टोलीले घटनास्थल सुरक्षित बनाएर राखेको कारण सबुत प्रमाण भेटिने भने सम्भावना हुन्छ । अब प्रहरीको घटनास्थल अनुसन्धान टिमको क्राइम सिन अफिसर (सोको) को टिमले घटनास्थलको सर्च गर्ने छ र सबुत प्रमाण सङ्कलन गर्ने छ ।

सोको टिमको लागि सबैभन्दा महत्त्वपूर्ण काम घटनामा प्रयोग भएको हतियार खोज्नु मानिन्छ । त्यसको लागि धरानबाट गएको फरेन्सिक टिम र जिल्ला प्रहरी कार्यालयको सोको टिम संयुक्त रूपमा बिहानै देखि खटिएको छ ।

सबुत प्रमाण सङ्कलन पछि अनुसन्धान टोलीले घटनास्थल र शवको लास जाँच प्रकृति मुचुल्का विवरण उठाउने छ । यो घटनामा भने घटनास्थलमा भेटिएको शवको प्रकृति हेर्दा हत्याराले मृतकहरूलाई लखेटी लखेटी हत्या गरेको अनुमान गरिएको छ । घरभित्र ८४ वर्षीय पार्वती कार्की मृत अवस्थामा भेटिएकी थिइन् । छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीय कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीय गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो । प्रहरीका अनुसार नाति नतिनाको शव घरदेखि माथिको खर बारीमा छ । तेजबहादुरको शव सडकमा छ । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा छ ।

साथै मृतकहरूको चप्पल, चुरा लगायतका सामानहरू यत्रतत्र छरिनुले लखेटेर हत्या भएको प्रहरीको अनुमान छ । पाँच जनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष पनि छ ।

यो हत्या प्रकरणमा सबै जनामाथि धारिलो हतियार प्रहार भएको देखिन्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले यो घटनामा एक जना भन्दा बढीको संलग्नता र उनीहरूले खुकुरी र बन्चरो जस्ता घरेलु हतियार प्रयोग गरेको हुन सक्ने मृतकहरूको शरीरको चोटबाट देखिएको छ ।

धारिलो हतियारले प्राय टाउको, घाटी र कोखामा प्रहार भएको देखिन्छ ।

लास जाँच प्रकृति मुचुल्का उठाएपछि शवको पोस्टमार्टमको लागि अस्पताल पठाउने तयारी गरिन्छ । यो घटनामा मृतक सबैको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी गरिएको छ । जिल्ला अस्पताल भन्दा बिपीमा छिटो पोस्टमार्टम हुने भएकाले सबै शवलाई धरान ल्याइने अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीम दाहाल बताउँछन् । पोस्टमार्टम रिर्पाेट जति चाँडो आउन सक्यो त्यति नै अनुसन्धान फराकिलो हुने दाहालको धारणा छ ।

पोस्टमार्टम रिर्पाेट क्लियर नभएको खण्डमा भिसेरा जाँचको लागि शवको केही नमुना प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाउनु पर्ने हुन्छ ।

Haty aa शव पोस्टमार्टमको लागि पठाएपछि हत्याको कारणहरू केलाउन थालिन्छ । तर घटनामा संलग्न हुने अपराधीहरू फरार हुने सम्भावनालाई रोक्न घटनाको जानकारी प्रहरीलाई हुन साथ शङ्कास्पद व्यक्ति र भाग्न सक्ने नाकाहरूमा निगरानी बढाइन्छ । यो हत्यामा पनि प्रहरीले सुरुमै सङ्खुवासभाबाट बाहिरिने नाका र जिल्ला छिर्ने नाकामा प्रहरी व्यापक परिचालन गरिएको अवस्था छ । त्यस अलावा २४ घण्टाको घटनास्थलको कल डिटेल रेकर्ड सिडिआर निकालेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

दुई बच्चासहित परिवारकै हत्या गरिएकाले घटनामा चिनजानको व्यक्ति संलग्न हुनसक्ने आशङ्का गरिएको छ ।आफन्त र छरछिमेकीहरुलाई समेत बोलाएर प्रहरीले बयान लिनेगर्छ ।

अनुसन्धानका सबै विधि प्रयोग गरेर भएपनि अपराधीसम्म चाँडो पुग्ने अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीम दाहाल बताउँछन् ।

यो पनि : 

सङ्खुवासभा ‘सामूहिक हत्या’ को अनुसन्धान टोली घटनास्थलमा, लखेटेर हत्या गरिएको अनुमान

 

सम्बन्धित समाचारहरु

झापाका मासु व्यवसायी ...

कार्तिक २५ मा झापा बिर्तामोड– ५ का ५० वर्षीय मासु व्यवसायी इन्द्रबहादुर मगरको आफ्नै पसलमा धारि ...

इटहरीमा बाल विवाह गर ...

इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थि ...

धरानको विनोद मृत्य प ...

मनोज भुजेल । सुनसरीको धरान ५ सुन्दर बस्तीमा गत साउन १४ गते ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved