मोरङको कसेनी हत्या प्रकरण : फुपूको घरमा लुकेका मुख्य ‘योजनाकार’ पक्राउ

alt
  • भदौ ३०, २०७७
  • अपराध न्यूज

सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युवाहरूले मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामाथि बाँसको भाटा प्रयोग गरेर अस्थायी पुल बनाएका थिए ।

उनीहरूले त्यहाँबाट मोटरसाइकल तार्दा एउटासँग २५ रुपैयाँ लिन्थे । मानिसलाई भने पैसा लिइँदैन थियो । लोहन्द्रा खोलामा रहेको सुनसरी–मोरङ सिँचाई आयोजनाको साइफनसहितको पक्की पुल २०७४ साल साउनमा आएको बाढीले बगाइदियो । खोलामाथिको पक्की पुल पुन निर्माणको काम भने तीन बर्षपछि भर्खर थालिएको छ ।

पक्की पुल नभएसँगै खोला वारपार गर्न समस्या हुँदा स्थानीय युवाले बाँसको पुल बनाएको वडा अध्यक्ष विश्वबन्धु बस्नेत बताउँछन् । बाँसको अस्थायी पुलबाट दैनिक सयौँ सर्वसाधारणले खोला वारपार गर्थे ।

वडा अध्यक्ष बस्नेतका अनुसार त्यही पुलमा उठाउने गरिएको पैसाको विवादका कारण एउटै परिवारभित्र मानवीय क्षति भयो । भदौ ११ गते राति मादक पदार्थ सेवन गरेर आएका कसेनीकै दिनेश श्रेष्ठ लगायतका युवाहरूले पुलबाट उठाएको पैसा आफूहरूलाई पनि दिनु पर्ने भन्दै विवाद गरेका थिए ।

pULL त्यत्तिकैमा मोटरसाइकलमा आइपुगेका ग्रामथान गाउँपालिका–२ का ३३ वर्षीय कृष्ण चौधरी पनि विवादमा सामेल हुन्छन् । चौधरी त्यहाँबाट जानुको साटो कसेनीकै विनय सरदारलाई फोन गरेर बोलाउँछन् ।

केही युवा लिएर सरदार आइपुगेपछि उग्र बनेको विवाद स्थानीयले साम्य पारेर पठाउँछन् । तर उक्त विवाद भोलिपल्ट ज्यान लिने घटनामा परिणत भएको वडा अध्यक्ष बस्नेतले बताए । रिसईबी साँधेर बसेका सरदारले २५/३० जना युवा बटुलेर अघिल्लो रात विवाद गर्नेको खोजी गर्दै भोलिपल्ट आक्रमण सुरु गरेको स्थानीय बासिन्दा बताउँछन् ।

झगडा सुरु हुन थालेको चाल पाएर सम्झाउन पुगेका चन्द्रकुमारको उनीहरूकै आक्रमणमा परेर मृत्यु भएको हो । ‘पुलका कारण उत्पन्न विवादले मानिसकै ज्यान जाने कहालीलाग्दो घटनाको रूप लियो,’ वडा अध्यक्ष बस्नेतले भने, ‘जुन विवाद झगडामा परिणत हुँदा एकै परिवारका एक जनाको मृत्यु र तीन जना घाइते हुन पुगे ।’

उनका अनुसार अघिल्लो दिनको घटनासँग जोडिएका युवाहरू भएको भन्दै राई परिवारमाथि आक्रमण गरिएको पाइएको छ । तर उनीहरूको अघिल्लो घटनामा कुनै संलग्नता नभएको बस्नेतले बताए ।

विराटनगरमा नृत्य प्रशिक्षकको काम गर्ने अविवाहित चन्द्रकुमार कोरोना सङ्क्रमणका कारण गरिएको ‘लकडाउन’पछि गाउँमै गएर बसेको जानकारी बस्नेतले दिए । घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशाल कुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ३५ वर्षीय अनुज माझी, ग्रामथान– ५ का ३३ वर्षीय दिनेश चौधरी, ग्रामथान–४ का ३७ वर्षीय ओम धामी, ग्रामथान–२ का ३३ वर्षीय कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का ३३ वर्षीय दिनेश मास्के लगायत अझै फरार रहेको प्रहरीले जनाएको छ ।

फुपूको घरबाट ‘योजनाकार’ पक्राउ

कहालीलाग्दो घटनाका मुख्य अभियुक्त भनिएका बेलबारी –५ का ३१ वर्षीय विनय सरदारलाई प्रहरीले सुनसरीको बराह क्षेत्र नगरपालिका–११ मधुवनबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले सरदारलाई घटना भएको १८ दिनपछि सोमबार राति ८ः३० बजेतिर नियन्त्रणमा लिन सफल भएको हो ।

फुपूको घरमा लुकेर बसेको अवस्थामा सरदारलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । पक्राउ गरेर उनलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी खड्काले दिए ।

सरदारको नेतृत्वमा गत भदौ १२ गते भएको सामूहिक आक्रमणमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु र उनकै परिवारका तीन जना घाइते भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यही दिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए । एउटै परिवारका उनीहरू उपचारपछि घर फर्किसकेका छन् ।

मृतक चन्द्रकुमार र घाइते समुन्द्र सइकुमारका भाइ र गौरव छोरा हुन् । मृतक चन्द्रकुमारलाई सरदारले नै बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved