सुनसरी प्रहरीको एउटा खास अप्रेसन : जसले प्रदेश १ मा भित्रने लागुऔषधको ‘नेक्सस’ तोड्यो

alt
  • असार २७, २०७७
  • मनोज भुजेल

अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २४ वैशाखबाट कमान्ड सम्हाले ।

पूर्व कार्यरत रहँदा वा सिआईबीमा रहँदा विभिन्न अप्रेसनको लागि पूर्व आउँदा खुल्ला सिमाना कारण सुनसरीमा हुने लागुऔषधको कारोबार प्रति थापा राम्रो सित जानकार थिए ।

सुनसरी आउन साथ थापाले पहिलो प्राथमिकतामा भारतीय सीमाबाट भित्रने लागुऔषधको ‘मेन नेक्सस’ तोड्ने योजना बनाए ।

थापा सुनसरी आएको दुई महिना बितिसकेको थियो । यो बिचमा साना तिना लागुऔषध प्रयोगकर्तादेखि कारोबारी धमाधम पक्राउ परिरहेका थिए । तर थापालाई भइरहेको काम प्रति चित्त बुझिरहेको थिएन ।

केही ‘ठुलै गर्ने’ योजना बनाएका थापाले सुनसरीमा लागुऔषध कारोबार गर्ने सबैको लिस्ट बोकेर बसेका थिए । थापाको लिस्टमा भारतमा बसेर नेपाल भित्र लागुऔषध छिराउने भारतीयदेखि सुनसरी जिल्लाका विभिन्न नाकाबाट लागुऔषध नेपाल भित्राउने कारोबारीको लिस्ट उनीसँग थियो ।

त्यो लिस्ट मध्ये एउटा नाम थियो, कोसी गाउँपालिका ४ लौकही बस्ने २९ वर्षीय पंकज यादव । पंकज भारतका विभिन्न डिलरबाट ठुलो परिमाणमा लागुऔषध मगाई सुनसरीदेखि उदयपुर, धनकुटा, मोरङ, झापा र इलामसम्म खुद्रा कारोबारीलाई बिक्री वितरण गर्ने मुख्य ‘नाइके’ हुन् ।

पंकजले लकडाउन अवधिभरि मात्र करिब १२ लाख बढीको विभिन्न प्रकारका लागुऔषध नेपाल भित्राएको प्रहरीलाई सूचना थियो । लकडाउन भएदेखि पंकजको गतिविधि सीमा क्षेत्रमा बढेको र नयाँ नयाँ ठाउँमा कोठा भाडा लिएर लागुऔषध ‘स्टक’ गदै हिँडेको प्रहरी उपरीक्षक थापालाई सूचना थियो ।

पक्राउको योजना

पंकजलाई 'टप प्राइरोटी' मा राखेर पक्राउ गर्ने योजनाको साथ प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा २० असारमा थापाले एउटा ‘अप्रेसनल टिम’ बनाउँछन् ।

Pankaj YDb टिमले पंकजको धन्दाको विशेष ‘साझेदारी’ मानिएका कोसी गाउँपालिका ६ का सुनिल मुखियालाई पक्राउ गर्ने पहिलो योजना बनाउँछ । प्रहरी निरीक्षक खनाल सुनिल मार्फत नै पंकजलाई पक्राउ गर्ने रणनीतिमा हुन्छन् ।

जस अनुसार २५ असारमा कोसी कटानको दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १० प ९३३२ नम्बरको पल्सर बाइकमा सवार सुनिल लागुऔषध डाईलेक्स डि.सी नामक १०० एमएल २० बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको १२ पत्तासहित पक्राउ पर्छन् ।

सुनिल पंकजकै छत्रछायामा आफ्नै छुटै ‘नेटवर्क’ बनाएर एक वर्षदेखि लागुऔषध कारोबार गर्न थालेका थिए । पंकजसँग जोडिने सूत्र सुनिल पक्राउपछि उनलाई त्यसै दिन पक्राउ गर्ने प्रहरीको योजना प्राविधिक कारणले सफल हुँदैन ।

निकै ‘प्रोफेसनल’ पंकज प्राय आफ्नो लोकेसन र सिम फेरिरहने भएकाले उनलाई पक्राउ गर्न खनाल नेतृत्वको टिमलाई केही चुनौती सामना गर्नु परेको थियो । तर दोस्रो दिन २६ असारमा सुनिल मार्फत पंकजलाई कारोबारको विषयमा कुरा गर्नु छ भनेर झुक्क्याएर सुनसरीकै बराहक्षेत्र ९ बाट पंकज र अर्को गोकुल भन्ने खेमबहादुर लुइँटेल पक्राउ पर्न प्रहरी निरीक्षक खनाल सफल हुन्छन् ।

खेमबहादुर भने पंकजको लागुऔषध भण्डारण गर्न घर भाडामा दिने व्यक्ति हुन् । पंकजलाई पक्राउ गर्न सफल भएपछि खनालको टोलीले पंकजले लुकाएको ठुलो परिमाणको लागुऔषध बराहक्षेत्रस्थित आदर्श सामुदायिक वनको झाडीमा खाल्डो खनेर निकाल्छ । त्यहाँबाट प्रहरीले डाईलेक्स डि.सी १०० एमएल लेखिएको १२० बोतल, स्पास्मो प्रोक्सिभन ३ फायल गरी जम्मा १४४ वटा क्याप्सुल बरामद गर्छ ।

भारतीय कारोबारीपनि पक्राउ

पंकजको लागुऔषध धन्दाको साझेदारी सुनिल मुखियालाई पक्राउ गर्दा प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ गरेको थिए । पक्राउ पर्नेमा दुई जना मध्ये एक भारत सुपौल जिल्ला वीरपुर १ का राकेश कुमार मण्डल (शिव) र अर्को सुनिलका सहयोगी वीरेन्द्र मरदैता थिए ।

भारतीय नागरिक राकेश मण्डल पंकज र सुनिललाई भारत तर्फबाट लागुऔषध सप्लाई गर्ने मेन ‘सप्लायर’ हुन् ।

All पंकज, सुनिल, राकेश, वीरेन्द्र र खेम पक्राउ परेपछि खनालको थप अनुसन्धानले बराहक्षेत्र १ बस्ने राजु शर्माको घर छेउको बारीमा गाडेको अवस्थामा डाईलेक्स डि.सी लेखिएको ८७ बोतल लागुऔषध बरामद गर्छ । शर्मा पनि पंकजकै लागुऔषध भण्डारण र बराहक्षेत्रमा सानो तिनो परिमाणमा लागुऔषध बिक्री वितरण गर्ने कार्यमा संलग्न हुन्छन् ।

यस्तै कोसी गाउँपालिका ६ का सुनिलकुमार यादव पनि सुनिल मुखिया र पंकजको कारोबारको भरिया भएको आधारमा प्रहरी निरीक्षक सरोज खनालको टिमले पक्राउ गर्छ ।

सुनसरीमा अहिलेसम्मकै ठुलो उपलब्धि

तीन दिनसम्म चलेको अप्रेसनले सीमा क्षेत्रबाट नेपाल भित्रने लागुऔषधको राम्रो नेक्सस तोड्न सफल भएको प्रहरी उपरीक्षक थापा बताउँछन् ।

पक्राउ परेका पंकज यादव विगत १२ वर्षदेखि लागुऔषध कारोबार गदै आएको प्रहरीमा रेकर्ड छ । उनले पछिल्लो पाँच महिना यता कारोबार बढाएर दोब्बर बनाएको थापाको भनाई छ ।

अनुसन्धानको क्रममा पंकजले आफ्नो कारोबारको विवरण राख्न र पैसा उठाउन मात्र २५ जना युवा प्रत्यक्ष रूपमा काममा लगाएको देखिन्छ । उनले सुनसरीलाई आधार बनाएर इनरुवा, झुम्का, इटहरी, धरान, कोसी ब्यारेज, दुहबीमा गरी २० भन्दा बढी गोप्य स्थानमा बढी भाडाको प्रलोभन देखाई लागुऔषध भण्डारण गर्ने गरेको थापाले अपराध न्युजलाई जानकारी दिए ।

‘हामीले लागुऔषध कारोबारको मेन नेक्ससका मान्छे पक्राउ गर्न सफल भयौ’, उनले भने ‘यसले पूर्वको लागुऔषध कारोबारमा ठुलो प्रभाव पर्ने हाम्रो अनुमान छ’ ।

यता सुनसरी प्रहरीको लागि यो अत्यन्त ठुलो सफलता हासिल भएको थापाको तर्क छ । पक्राउ परेका सबैलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचार : 

छोरी कुटेको रिसमा सासूले बनाइन ज्वाइँको ‘मर्डर प्लान’

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved