जो जंगली हात्ती ‘मकुना’को ‘मस्ट वाण्डेट’ छन्...

alt
  • असार १, २०७७
  • अपराध न्यूज

५० वर्षीय बलदेव मण्डलको घर कोसी टप्पु वन्यजन्तु आरक्ष छेवैको कोसी गाउँपालिका ३ पर्ती टोलमा पर्छ । उनी सात वर्षदेखि आरक्षको मध्यवर्ती क्षेत्रका मानव बस्तीमा छिर्ने जङ्गली हात्ती धपाउने काम गर्छन् । उनी जङ्गली हात्तीको स्वभाव र हिँड्ने बाटो मज्जाले पहिल्याउन सक्छन् ।

आरक्ष आसपासको गाउँमा जब जङ्गली हात्ती छिर्छ तब सबैले उनलाई डाक्छन् । रात होस या दिन बोलाएको ठाउँमा बलदेव प्राय पुग्ने गर्छन् । बलदेव हात्ती धपाउन सिपालु हुनुको कारण सानै देखिको देखाइ अनि भोगाई हो ।

जङ्गली हात्तीका कारण मध्यवर्ती क्षेत्रका धेरैले ज्यान गुमाएका छन् भने कयौँको घर र बाली नष्ट भएको छ । अहिले कोसी टप्पु आरक्ष भित्र ६ वटा जङ्गली हात्ती छन् । यी हात्तीहरू पछिल्लो दुई वर्षदेखि कतै नगई आरक्ष भित्रै बस्दै आएका छन् ।

यी हात्ती मध्ये ‘मकुना’ भाले हात्ती अत्यन्त बढी विध्वंस मच्चाउने स्वभावको छ । मकुनाकै कारण हाल सम्म मध्यवर्ती क्षेत्रमा ८ जनाले ज्यान गुमाइसकेका छन् । साथै १८ वटा घर र लाखौँ मूल्य बराबरको अन्नबाली मकुनाका कारण क्षति पुगेको छ ।

आरक्ष र मध्यवर्ती क्षेत्रमा माकुना हात्ती देख्न साथ स्थानीय, आरक्ष सुरक्षार्थ नेपाली सेना र आरक्ष कर्मचारीहरू ‘साइड’ लाग्ने गर्छन् ।

तर पुरै आरक्षमा आफ्नो आतङ्कले चर्चित मकुना भने बलदेव मण्डलसँग डराउने गर्छ । मकुना हात्ती कहिले समूह लिएर त कहिले एक्लै गाउँ पस्छ । त्यस बेला मकुना बलदेवको आवाज सुन्न साथ पछि हट्ने गरेको छ ।

बलदेव हात्ती देख्न साथ भिन्न आवाज निकाल्छन् र हात्तीलाई डराउँछन् । हात्ती धपाउन उनले कहिले गुलेली चलाउँछन् त कहिले पटाका पड्काउँछन् । हात्ती नभागेको अवस्थामा बलदेवले आफ्नो ट्रयाक्टर निकालेर पनि हात्ती खेद्छन् ।

Makuna मकुनाले भने बलदेवको आवाज पहिचान गर्ने गरेको छ । ‘मलाई मकुनाले स्पष्ट चिन्छ, बलदेव भन्छन् ‘मलाई धेरै पटक खोज्दै हिँडेको छ । माकुनाले मलाई तीन पटक मार्ने कोसिस समेत गरेको छ । म अहिले मकुनाको ‘वान्टेड’ मा छु’ ।

मकुनालाई धेरै पटक लखेट्दा मलाई चिनेको हो । हात्तीले मान्छेको हाउभाउ र आवाज प्रस्ट पहिचान गर्न सक्छ ।

पहिलो पटक घरको भित्ता भत्काएर मलाई आक्रमण गर्न खोज्यो । दिउसो घरभित्र आराम गरिरहेको अवस्थामा ५ इन्चको भित्ता फोडेर मलाई आक्रमण गर्न खोजेको थियो । भागेर ज्यान जोगाए ।

दोस्रो पटक राती मकै बारीमा ढुकेर आक्रमण गर्न खोजेको थियो । त्यहाँ पनि भागेर ज्यान जोगाए । तेस्रो पटक मकुनाले खेदाउँदा रूपमा चढ्दा रुख नै भाँच्न खोज्यो ।

त्यो बेलाको क्षण बलदेव यसरी सम्झिन्छन् : 

छिमेकीले लगाएको मकै बारीमा मकुनाको समूह देखियो । सबैले लखेटेऔँ । तर मकुना एक्लै फर्किएर मलाई मात्र खेद्न थाल्यो । म रुखमा चढे, मकुनाले एक घण्टा लगाएर रुख भाँच्ने कोसिस गर्‍यो । सुँड भित्र ल्याएको पानी जरामा हालेर पनि रुख भाँच्न खोज्यो । तर सेनाले हवाई फायर गरेपछि मकुना भाग्यो ।

‘अझै पनि मकुना मलाई खोज्दै हिँड्छ’ उनले भने ‘आरक्षको बाटो हिँड्दा परैबाट मलाई देख्यो भने पनि लखेट्न सुरु गर्छ’ ।

सायद मेरो रिसले होला दुई जना दाई मकुनाकै आक्रमणबाट ज्यान गुमाएको बलदेव बताउँछन् । बलदेवका ४ जना दाजु मध्ये माइला दाइ लालु मण्डललाई मकुनालेनै सुढले पक्रेर रुखमा फाल्दियो र छातीको हड्डी भाँचेर मृत्यु भयो ।

यस्तै ठुलो बुवाको छोरा वीरेन्द्र मण्डल र एक छिमेकी मलाहा आँखा अगाडी मकुनाले मार्दियो । बलदेव प्रति मकुनाको आक्रोश देखेर छिमेकी रमेश कुमार यादव डराउँछन् ।

‘बलदेवले लगाउने टोपी, उनको जुँगा र शरीर देखेर मकुना हात्ती डराउँछ । तर मौका मिल्न साथ आक्रमण गर्न आउँछ’ । ‘फिल्मको कथा जस्तो छ बलदेव र मकुनाको सम्बन्ध’ यादवले भने ।

बलदेवलाई एक्लै आरक्ष भित्र नजान स्वयम आरक्षका कर्मचारी, नेपाली सेना र स्थानीयले सम्झाउँछन् ।

बलदेव मध्यवर्ती क्षेत्रमा पसेका जङ्गली हात्ती लखेट्दा आरक्षबाट भत्ता पाउँथे । तर अहिले भत्ता दिने नियम हटेपछि बलदेव परेको अवस्थामा मात्र हात्ती खेद्ने गर्छन् ।

‘म हात्तीलाई कहिले चोट पुराउँदिन । बस गाउँ र खेतको सुरक्षाको लागि हात्ती भगाउनको लागि पटाका पड्काउँछु र गुलेली चलाउँछु’ उनी भन्छन् ‘हात्ती भगवनको प्रतीक हो, म सदैव हात्तीको पूजा पनि गर्ने गर्छु ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved