प्रदेश १ सरकारले चासो राखेपछि प्रहरीको ‘फरेन्सिक ल्याब’ले पाउने भयो पूर्णता

alt
  • जेठ २६, २०७७
  • मनोज भुजेल

सङ्घीय प्रहरी इकाई कार्यालय धरानको हाता भित्र निर्माण भएको फरेन्सिक ल्याबको भवनलाई सञ्चालनमा ल्याउन प्रदेश १ सरकारले चासो देखाएको छ ।

भवन निर्माण भएको अढाई वर्ष बितिसक्दापनि ल्याब भने सञ्चालनमा आउन सकेको छैन । हाल ल्याबको काम धरानकै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भइरहेको छ ।

प्रतिष्ठानको मर्चरी विभाग छेउमा डिएसपी डा. उपेश कुमार चौधरीको नेतृत्वमा ‘टक्सीकोलोजि’ शाखा स्थापना गरिएको छ । जसमा विष सेवनबाट हुने आत्महत्या, मापसे सेवनबाट हुने घटना सम्बन्धी केशको भिसेरा परीक्षण हुँदै आएको छ ।

सङ्घीय प्रहरी कार्यालयमा भवन निर्माण भए पनि ल्याबको लागि अति आवश्यक कोल्ड च्यामबर र छुटै ट्रान्सफर्मर नहुँदा अस्थायी रूपमा बिपी प्रतिष्ठानमा ७३-७४ बाट ल्याब चलाउनु पर्ने बाध्यता छ । ल्याबमा प्रदेश १ का १४ जिल्लासहित प्रदेश २ को सप्तरी, सिराहा र धनुषासम्मबाट भिसेरा परीक्षणको लागि स्याम्पल धरान ल्याइने गरिन्छ ।

तत्कालीन नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालको पालामा नेपाल प्रहरीको नियमित बजेटबाट २ करोड ६४ लाखको लागतमा निर्माण भएको भवनलाई अहिले प्रदेश सरकारले स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७-०७८ का लागि नीति तथा कार्यक्रमबाट प्रदेश स्तरीय फरेन्सिक ल्याबको स्तरोन्नति गर्ने जनाएको हो । अब ल्याबको लागि आवश्यक उपकरण खरिदको लागि बजेट छुट्ने निश्चित प्राय भएको छ ।

अपराध अनुसन्धानलाई वैज्ञानिक र आधुनिक बनाउन डिजिटल फरेन्सिक ल्याब प्रहरीको लागि महत्त्वपूर्ण इकाई हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी पछि धरानस्थित बिपी प्रतिष्ठानमा ल्याब सञ्चालनमा आएको हो । यस्तै २०७६ माघ २३ बाट पश्चिम नेपालको नेपालगन्जबाट पनि विधि विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ ।

सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख एसएसपी राजेन्द्र प्रसाद चौधरीले ल्याब सञ्चालनको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग छलफल गरेपछि प्रदेश सरकारले ल्याबलाई सञ्चालनमा ल्याउन चासो दिएको हो ।

‘हामीकहाँ भवन तयारी अवस्थामा छ, मात्र भिसेराको स्याम्पल राख्न कुलिङ रुम छैन’ एसएसपी चौधरीले भने ‘प्रदेश सरकारले चासो देखाएको छ अब चाडै यसले पूर्णता पाउने छ’ ।

हाल बिपी प्रतिष्ठानमा टक्सीकोलोजि बाहेक सबै परीक्षण काठमाडौँ पठाउनु पर्ने बाध्यता रहेको उनले अपराध न्युजसँग बताए । जस कारण रिर्पाेट ढिलो आउँदा अनुसन्धानमा केही समस्या उत्पन्न हुने गरेको चौधरीको भनाई छ ।

किन आवश्यक छ फरेन्सिक ल्याब ?

बिपी प्रतिष्ठानस्थित नेपाल प्रहरीको अस्थायी फरेन्सिक ल्याबका प्रमुख एव डिएसपी डा. उपेश कुमार चौधरी प्रहरी अनुसन्धानलाई वैज्ञानिक अनि प्रमाणमुखी बनाउन फरेन्सिक ल्याब अति आवश्यक भएको बताउँछन् ।

कतिपय अवस्थामा बयानमुखी अनुसन्धानले मात्र तथ्य नआउने भएकाले गलत अनुसन्धान नहोस् भनेर ल्याब मार्फत प्रहरीले अनुसन्धान अघि बढाउँदै आएको उनले जानकारी दिए ।

‘प्रमाण अभावका कारण दोषी पक्राउ पर्न नसकेको अबस्थापनि हुन सक्छ’ उनले भने ‘प्रहरीले यो विधि अपनायो भने अनुसन्धानमा फेल हुनुपर्ने अवस्था हुन्न’ । चौधरीका अनुसार समाजमा बढ्दो लागु औषध सेवन र बलात्कारका जस्ता घटनाको अनुसन्धान तथ्यपरक बनाउनलाई ल्याब चाँडो भन्दा चाँडो बनाउनु पर्ने उनको धारणा छ ।

धरानमा प्रदेश स्तरीय ल्याब सञ्चालनमा आउँदा रिर्पाेट छिटो आउनुको साथै घटनाको अनुसन्धान चाँडो सकिने उनको तर्क छ । हाल विभिन्न हतियारको प्रयोगबाट हुने हत्या, बलात्कार, चोरी डकैती तथा जाली नोटको कारोबार जस्ता घटनाको अनुसन्धान ढिलो हुने गर्दथे । कारण प्रहरीले अनुसन्धान गर्दा फरेन्सिक ल्याबको रिर्पाेट कुर्दा अनुसन्धानको समय समेत लम्बिने चौधरी बताउँछन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीमा समेत लामो समय काम गरिसकेका एसपी भिमबहादुर दाहाल फरेन्सिकबाट घटनाको रियल गहिराई पत्ता लाग्ने बताउँछन् ।

‘घटनापछि शवको पोस्टमार्टम गरिन्छ, त्यसबाट कतिपय अवस्थामा कारण भेटिन मुस्किल हुन्छ’ उनले अपराध न्युजसँग भने ‘त्यसको लागि फरेन्सिक जाँच अति आवश्यक हुने गर्छ’ ।

समाज जति विकसित हुँदै जान्छ अपराधका तरिका पनि उतिकै बदलिन्छ । यस्तो अवस्थामा घटनाको वैज्ञानिक अनुसन्धान गर्न यो विधि महत्त्वपूर्ण हुने दाहालको अनुभव छ ।

‘विदेशमा सिरिन्ज प्रयोग गरेर हत्या गरिन्छ, त्यस्तो अवस्थामा फरेन्सिककै मद्दतबाट कस्तो विष प्रयोग भयो, शरीरको कुन अंगमा क्षति पुग्यो भनेर फरेन्सिकले रिर्पाेट दिने गर्छ’ । नेपालको हकमा पनि फरेन्सिक ल्याब अति आवश्यक भइसकेको एसपी दाहालको तर्क छ ।

नेपालमा भने २०१६ सालदेखि औँठा छापाको परीक्षण हुने गर्दथ्यो । त्यसपछि २०६५ बाट व्यावसायिक रूपमा प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सञ्चालनमा आएको हो ।

अहिले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा डिएनए, रगत तथा वीर्य, रौँ रेसा तथा काठ, जाली नोट जस्ता गरी ११ विधाको परीक्षण हुने गरेको छ । विगतमा भने प्रहरीले कुनै घटनाको अनुसन्धान गर्नुपर्दा गृह र परराष्ट्र हुँदै भारतको कलकत्ता प्रयोगशाला पढाउनु पर्ने अवस्था थियो ।

तर अहिले ६ वर्षदेखि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौँ, धरान र नेपालगन्जबाट फरेन्सिक जाँच हुने गरेको छ ।

यो पनि : 

प्रदेश १ को नीति तथा कार्यक्रम : फरेन्सिक ल्यावको स्तरोन्नति, बोर्डर आउटपोष्ट थपिने

 

सम्बन्धित समाचारहरु

कोरोना सम्बन्धी नक्क ...

कोरोनाको महामारीमा कतिपय सूचना पनि घातक हुनसक्छन् । कोरोना संक्रमितको सम्पर्कमा गएकोले तपाई सामाजिक ...

आइजिपीलाई प्रधानमन्त ...

नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने मुल दायित्व ब ...

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved