ओखलढुंगामा कुकुर आतंक रोक्न प्रहरी परिचालन गरिएको छ । केही दिनयता जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कुकुरले मानिस र पशुचौपायामाथि आक्रमण गर्न थालेपछि कुकुर नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको हो । छाडा कुकुरबाट बच्न समस्या भएको भन्दै सर्वसाधारणले सुरक्षा माग गरेपछि प्रहरी परिचालन गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले जानकारी दिए ।
जनप्रतिनिधिसहित नगरपालिकामा भएको स्थानीयको भेलाले छाडा कुकुर नियन्त्रण गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय गरेको हो । ‘कुकुरले जथाभावी मान्छे र पशुलाई टोकेर घाइते बनाउन थालेपछि प्रहरी परिचालन गरेका हौँ,’ जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले भने, ‘नगरपालिका, पशुविज्ञ केन्द्र र प्रहरीले हिंस्रक कुकुर पहिचान गरेर नियन्त्रण गर्छ ।’ कतै समस्या भए प्रहरीलाई खबर गर्न पनि उनले आग्रह गरे । जिल्लाका सबै प्रहरी युनिटलाई हिंस्रक कुकुर नियन्त्रण गर्न आदेश दिइएको उनले बताए ।
एक महिनायता सदरमुकामआसपासका क्षेत्रका हिंस्रक कुकुरले टोक्दा ५० वटा खसी–बाख्रा मरेका छन् ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved