सुनसरीका दुई सङ्क्रमितको ‘कन्ट्याक ट्रेसिङ’ ले देखायो सङ्क्रमणको जोखिम

alt
  • जेठ ६, २०७७
  • अपराध न्यूज

सोमबार गढी गाउँपालिकाको क्वारेनटाइनमा रहेका एक युवक सहित मङ्गलवार सुनसरीमा दुई गरी तीनजना कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

मङ्गलवार कोरोना पुष्टि भएका इटहरी २ का १८ वर्षीय युवक र कोसी टप्पु वन्यजन्तु आरक्षमा खटिएका सशस्त्र प्रहरीका सहायक हबलदार छन् । उनीहरूको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए । सुनसरीमा सङ्क्रमण पुष्टि भएका तीन जना मध्ये इटहरीका एक युवक बाहेक सबैको अवस्था सामान्य छ । इटहरीका सङ्क्रमित युवा भने छाती दुख्ने बिरामी हुन् । उनलाई विपीकै आइसोलेसन वार्डमा राखिएको छ भने सशस्त्र प्रहरी हवलदारलाई कोसी अस्पताल भर्ना गरिएको छ ।

यस्तो छ कन्ट्याक ट्रेसिङ

गढीमा सोमबार सङ्क्रमण पुष्टि भएका युवक गढी गाउँपालिकाकै हुन् । उनी ३० बैशाखमा भारतको जोगवनी नाकाबाट नेपाल आएका थिए । उनी सहित १५ जना नेपालीलाई भारतीय एसएसबीले जोगवनी नाकाको चोर बाटोबाट नेपाल छिराएका थियो । त्यस मध्ये सुनसरी ठेगाना भएका ९ जनालाई आआफ्नो गाउँपालिकाको क्वारेनटाइनमा राखिएको थियो । सुनसरीका ९ जना मध्ये ५ जना गढीका हुन् । र ती मध्ये १९ वर्षीय युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

कन्ट्याक ट्रेसिङमा खटिएका प्रहरीका अनुसार गढीका युवक जोगवनीबाट सिधै गढी गाउँपालिकाको क्वारेनटाइनमा राखिएको कारण उनिबाट अन्यमा सङ्क्रमण फैलिन नपाएको बताइएको छ । उनी सहित अन्य ४ जनाको रिर्पाेट भने नेगेटिभ आएको अवस्था छ । यी युवक भारतको दिल्लीबाट विहार हुँदै ११ दिनको यात्राबाट सुनसरी आएका थिए । उनी भारतमै सङ्क्रमित भएको अनुमान गरिएको छ ।

मङ्गलवार इटहरीमा सङ्क्रमण पुष्टि भएका अर्काे युवकको घर इटहरी २ हो । १८ वर्षका ती युवक आफ्नै घरमा एक्लै बस्दै आएका छन् । बुवा आमा खोटाङमा बस्ने गरेका कारण मामाको घर समेत नजिक भएका उनी एक्लै बस्दै आएका थिए ।

१५ दिनदेखि सामान्य ज्वरो र छाती दुखेपछि मामाले उनलाई आइतबार दिउसो चेक जाँचको लागि विपी प्रतिष्ठान धरान लगेका थिए । उनको सोमबार राती स्वाब सङ्कलन गरिएको थियो । उनमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि इटहरी २ र ३ नम्बर वडा सिल गरिएको छ ।

ती युवक ब्रिटिस लाहुरेको लागि तयारी गरिरहेका थिए । धरानको एक ट्रेनिङ सेन्टरको होस्टेलमा बस्ने गरेका ती युवक लकडाउन जारी हुन साथ घर आएका हुन् ।

कन्ट्याक ट्रेसिङबाट सङ्क्रमित युवासँग छिमेकी एक साथी घरमा आउजाउ र सुत्न जाने आउने गरेको देखिएको छ । ती साथीको घरमा पनि यी युवक कहिले काहीँ सुत्न जाने र खाना समेत खाने गरेको देखिएको छ । सङ्क्रमित युवासँग बढी हेलमेल भएको परिवारलाई उच्च निगरानीमा राखिएको छ । उनीहरूको पनि स्वास्थ्य परीक्षण गरिने बताइएको छ ।

यी युवकबाट गरिएको कन्ट्याक ट्रेसिङबाट १९ जनाको सम्भावित सङ्क्रमण हुन सक्नेहरुको पहिचान गरिएको इटहरी अस्पतालले जनाएको छ । 

विपी प्रतिष्ठान जानु अघि यी युवक इटहरी अस्पतालमा छाती दुखाइको लागि जाँच गराउन पुगेका थिए । इटहरी अस्पताललेनै उनलाई विपी जान सुझाव दिइएको बताइएको छ। उनि बैशाख ३१ गते अस्पताल पुगेका थिए । कन्ट्याक ट्रेसिङमा खटिएका प्रहरीका अनुसार यी युवक इटहरी अस्पताल बाहेक अन्य केही मेडिकलमा समेत गएको देखिन्छ । 

उनिसगै गएका मामालाई आइसोलेसन वार्डमा राखेर स्वास्थ्य परीक्षण गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यता कोसी टप्पु वन्य जन्तु आरक्षमा कार्यरत सशस्त्र प्रहरी सहायक हवलदार आइतबार सँगै कार्यरत साथीको टेस्ट गर्न विपी प्रतिष्ठान धरान पुगेका थिए । दुवै जनाले स्वाब परीक्षण गर्दा साथीमा नेगेटिभ देखियो भने उनमा पोजेटिभ पुष्टि भएको सुनसरी प्रहरीले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका हवलदारको घर मोरङ भएको बताइएको छ । लकडाउन सुरु भएयता उनी घर भने गएका छैनन् । उनको डिउटी कोसी आरक्ष भित्र हो । सशस्त्र प्रहरी बसेको ठाउँ भने बराहक्षेत्र नगरपालिकाको ११ नम्बरमा पर्छ ।

लकडाउन यता कोसी नदी हुँदै विभिन्न जिल्लाबाट आएका मजदुरहरूलाई उनी कार्यरत २२ जनाको टोलीले धेरै पटक नियन्त्रणमा लिएको बताइएको छ ।

राजमार्गमा सवारी साधन रोक लगाएपछि सुनसरीको दक्षिणवर्ती क्षेत्र पुग्नलाई कोसी किनारको बाटो धेरैले प्रयोग गर्ने गरेका छन् । नियन्त्रणमा लिएका कोहीबाट उनी सङ्क्रमित भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

उनमा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै २२ जनाको सशस्त्र प्रहरीको टोली उच्च जोखिममा छ । उनीहरूको पनि परीक्षण गर्ने तयारी भइरहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । सुनसरीमा सङ्क्रमितको सङ्ख्या बढेको बताउँदै थापाले जिल्लामा लकडाउन अझ कडा बनाउने प्रतिक्रिया दिए ।

५ दिन इटहरी बन्द

इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा १८ वर्षीय एक युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

इटहरीमा सङ्क्रमण पुष्टि भए लगत्तै सुरक्षा अधिकारी सहितको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक राखेर उपमहानगरपालिका ५ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन् ।

उनका अनुसार औषधी पसल बाहेक अरू सबै पसलहरू, बजार क्षेत्र पूर्ण रूपमा बन्द गरिने भएको छ । इटहरीका केही वडाहरूबाट भइरहेको सेवा प्रवाह पनि बन्द गर्ने निर्णय भएको उनले बताइन् । ५ दिनसम्म घरबाहिर हिड्डुल नगर्न उपमेयर गौतमले नगरवासीमा अनुरोध समेत गरेकी छन् । उनले परिस्थिति सहज नहुन्जेल घरबाहिर हिड्डुल गर्न नपाउने बताइन् ।

 

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved