तरुण दलका नेपालगन्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोडेड पेस्तोलसहित पक्राउ परेका छन् । शाहको संकास्पद गतिविधिपछि चेकजाँच गर्दा उनले आफ्नो निजी गाडीको सिटमुनि लुकाइराखेको अवस्थामा प्रहरीले अमेरिकन पेस्तोल बरामद गरेको हो ।
आज खुल्न लागेको एउटा टेण्डर हत्याउने विषयमा योजना बनाउन बाँकेको सुर्खेतरोडस्थित नमस्ते भिलेज रिसोर्टमा बसेको एउटा समूहको शंकास्पद गतिविधि देखेपछि प्रहरीले चेकजाँच गर्दा पेस्तोल फेला पारेको हो । पेस्तोलमा दुई गोली लोड गरिएको अवस्थामा फेला परेको थियो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोलीले शाहसँगै टेण्डर कब्जा गर्ने विषयमा योजना बनाइरहेका अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेकामा नेपालगन्ज भृकुटीनगर बस्ने ४० वर्षीय दिनेश बहादुर शाही, नेपालगन्ज वेलासपुर बस्ने वर्ष ५४ को राघव शाह कानु, ३५ वर्षीय माधव नेपाली, नेपालगन्ज गणेशपुर बस्ने ३५ वर्षीय प्रीतम थापा मगर र राँझा एयरपोर्ट बस्ने ३० वर्षीय यामबहादुर बुढा मगर रहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved