एकजना किशोरीको अपहरण आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१६ का २१ वर्षीय अनिल राना, २२ वर्षीय सन्दीप राना र २९ वर्षीय लोकेन्द्र खडायतलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।
तीनैजनाले गएको शनिबार धनगढीकी १६ वर्षीया एक किशोरीलाई आफूहरू प्रहरी भएको बताउँदै अपहरण गरेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
यही भदौ २१ गते (शनिबार) मध्यराति १२ बजेतिर धनगढी–८, जाखोर तालनजिककी ती किशोरीलाई उनीहरुले आफूहरु प्रहरी भएको भन्दै लगेका थिए । एउटा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै तीनैजनाले किशोरीलाई अपहरण गरेका थिए ।
२२ गते राति प्रहरीले उनीहरुलाई धनगढी–१६ बाट पक्राउ गरी किशोरीको उद्धार गरेको थियो । किशोरीको स्वास्थ्य परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले मंगलबार जनाएको छ । पक्राउ परेका तीनजनाविरुद्ध अपहरण, शरीर बन्धक र जबर्जस्ती करणीमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved