धादिङको सिद्धलेक गाउँपालिका-१ धारापानीका गणेश लम्सालले आफ्नै श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन्। घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यरातमा धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाइ आफू भने धन्सारको जस्तापाता झिकेर भागेका थिए।
बलिरहेकै आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हाम्फालेर गुहार मागेपछि घटनाबारे स्थानीयहरुले थाहा पाएका थिए। तत्कालै स्थानीयले आगो निभाइ उपचारका लागि जिल्ला अस्पताल धादिङवेशी पठाएका थिए। बिमलाको अनुहार र हात छोराको कोखा, हात र टाउकोको आंशिक भाग जलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसी) रुपक खड्काले बताए।
आगोले डढेर गम्भीर घाइते भएकी विमलाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। घटनाको प्रारम्भिक अनुसन्धानबाट घरायसी विवाद भएपछि श्रीमानले श्रीमती र छोरालाई तारपिन तेल छर्किएर आगो लगाएको प्रहरी प्रवक्ता डिएसपी खड्काले बताए। उनका अनुसार आगो लगाउने श्रीमान गणेश लम्साल प्रहरीको नियन्त्रणमा रहेका छन्।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved