इलाका प्रहरी कार्यालय इटहरीमा प्रहरी प्रधान कार्यालयले सरुवा गरेका डिएसपी आउन नमानेपछि काजमा अर्का डिएसपीले इटहरी प्रमुखको जिम्मेवारी समालेका छन् । माघ १९ गते प्रहरी हेडक्वाटरले इटहरीमा डिएसपी पवन कुमार भटराईको दरबन्दी कायम गरेर सरुवा गरेको थियो । तर भटराई इटहरी आउन मन नगरेपछि उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत डिएसपी माधव प्रसाद काफ्ले इटहरी प्रहरीको जिम्मेवारी समालेका हुन ।
हेडक्वाटरले सरुवा गरेका डिएसपी भटराई एसपी बढुवाको अन्तिम चरणमा छन् ।
बढुवा पर्खेर बसेका भटराईले इलाकाको जिम्मेवारी निभाउने क्रममा कुनै पनि विवाद वा आरोप लाग्ने जोखिम देखेर इटहरी आउन मन नगरेको प्रहरी वृत्तमा चर्चा छ । बढुवाको अन्तिम चरणमा रहेका प्रहरी अधिकृतहरू कुनै पनि विवाद वा आरोपमा नफसियोस् भन्ने धारणा राख्ने गर्दछन् । बढुवालाई असर नहोस् भनेर भटराईले प्रहरीका आइजिपी धिरज प्रताप सिंहलाई भेटेर इटहरी नजाने भनेर अनुरोध गरेका थिए । आइजिपीसँग राम्रो सम्बन्ध बनाएका भटराईले आफ्नो ठाउँमा अरू कोही डिएसपी विकल्प खोज्न कर्मचारी प्रशासन शाखामा आग्रह गरेका थिए ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीमा टुवाईसीको रूपमा कार्यरत काफ्ले इटहरी आउन राजी भएका थिए । प्रहरी हेडक्वाटरको कर्मचारी प्रशासन शाखामा समेत बसेका काफ्लेले इटहरी जान इच्छा व्यक्त गरे । त्यसो त उनी २०७१ मा इलाका प्रहरी कार्यालय रङ्गेली मोरङको इन्चार्ज समेत खाइसकेका छन् । इटहरी बुझेका काफ्ले यस कारण पनि इटहरी आउन इच्छा जाहेर गरेको प्रहरी स्रोत भनाई छ । जिल्लाको टुवाईसीबाट इलाका प्रहरी कार्यालयको इन्चार्जको रूपमा काज सरुवा मिलाएपछि काफ्ले बिहीबार साँझ इलाका प्रहरी कार्यालय इटहरीमा हाजिर भएका हुन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको सफल कार्यकाल पुरा गरेर सप्तरी आएका काफ्लेले इटहरीमा पनि राम्रो काम काम गर्ने उनी निकट प्रहरी अधिकृत बताउँछन् । सरल स्वभाव र सहकार्यमा काम गर्न रुचाउने काफ्ले इटहरी आए पश्चात् पहिलो पटक सञ्चारकर्मीसँग कुरा गदै इटहरीलाई थप सुरक्षित सहर बनाउन आफ्नो पहल रहने बताएका छन् ।
इटहरीका वास्तविक समस्याहरूलाई न्यूनीकरण गर्न कार्य योजना बनाएर काम गर्ने उनले बताए । इटहरीमा खास गरी लागूऔषध प्रयोग, चोरी तथा सामाजिक अपराध बढी देखिएकाले यसको नियन्त्रणको लागि सबैको सहकार्यमा ‘प्रोएक्टिभ पुलिसिङ’ लागु गर्ने उनको भनाई छ । पहिलो चरणमा अदालतबाट फैसला भएर फरार भएका प्रतिवादीलाई नियन्त्रणमा आफ्नो पहिलो भूमिका रहने उनले सञ्चारकर्मीसँग बताएका छन् ।
काज सरुवा भएर आएको विषयमा डिएसपी काफ्लेले यसमा कुनै स्वार्थ नरहेको र हेडक्वाटरले इटहरीको आबश्कता बुझेर आफूलाई यहाँ पठाएको उनले प्रतिक्रिया दिएका छन् ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved