सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि फरार रहेकी प्रदेश १ की सांसद गुलेफुन खातुनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएकी छन् ।
एमालेबाट समानुपातिकमा प्रदेश सांसद भएकी खातुनले व्यक्तिगत तथा पारिवारिक कारण देखाइ बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा बुझाएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार सदनमा जानकारी गराई पद रिक्त्त भएको घोषणा गरेका हुन् ।
खातुन र उनका पति शेख सिलाबर मियाँले आफ्ना बुवा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत किर्ते गरेका थिए । गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकाले तत्कालीन कदमहा गाविस वडा २ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुबाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्ता भएको थियो ।
सरकारी छाप किर्ते अभियोगमा दोषी ठहर भएपछि उनीमाथि फौजदारी अपराध संहिताअन्तर्गत कानुनी कारबाही हुने व्यवस्था थियो । तर उनी प्रदेशसभा सचिवालयबाट बिदा स्वीकृत गराएर सेवा सुविधा लिँदै फरार रहेकी थिइन् ।
प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उल्लेख भएको उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्थामा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अभियोग प्रमाणित भएको व्यक्ति सदस्य पदका लागि अयोग्य हुने उल्लेख छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved