इटहरीस्थित सिने प्लेक्सले रातीसम्म हल सञ्चालन गरेपछि प्रहरीले रातको शो नगर्न निर्देशन दिएको छ । इटहरीको मुख्य चौक सेन्ट्रल प्लाजामा रहेको सिने प्लेक्सले चैत्र ११ गते रिलिज भएको अघिल्लो दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ र बैशाख १ गते रिलिज भएको ‘केजीएफ २’ समेत राती ११.५५ को शो सञ्चालन गरिरहेको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीले रातको अन्तिम शो १०.३० सम्ममात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।
‘चलचित्र विकास बोर्डको नियम भन्दा बाहिर गएर हल सञ्चालन गरेपछि हामीले मौखिक जानकारी गराएर रातको ११.५५ को शो नगर्न भनेको छौ’ इटहरीका डीएसपी खगेन्द्र खड्काले भने, ‘हलका मेनेजरले यो कुरामा सहमति जनाइसक्नु भएको छ ।’
सिने प्लेक्सका मेनेजर राकेश सिंहले पनि आज (सोमबार) बाट राती ११.५५ को शो हटाएको अपराध न्युजलाई बताए । ‘प्रहरीले मौखिक जानकारी गराउनु भएको थियो’ उनले भने ‘त्यसमा पनि रातीको शो हेर्न दर्शक नआएपछि हामीले आजबाट रातीको शो हटाएका छौ ।’
यता अड हावर (नियमितभन्दा फरक समय) मा सिनेमा चलाउन बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था छ। तर सिने प्लेक्सले बोर्डको नियम भन्दा बाहिर गएर रातको दुईवटा शो सञ्चालन गरिरहेको थियो ।
रातको समयमा फिल्म हल सञ्चालन गर्ने हलहरुलाई चलचित्र विकास बोर्डले कारबाहीको तयारी समेत थालेको छ । बोर्डका अध्यक्ष दयाराम दाहालले अनियमित समयमा फिल्म चलाउन नपाइने उल्लेख गरे। नियम उल्लंघन गरेको प्रमाणित भएको कारबाही गरिने उनको भनाइ छ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved