प्रर्दशनकारीले चलाएको भरुवा बन्दुकको गोलीबाट महिला प्रहरीको मृत्यु

alt
  • चैत्र ३०, २०७८
  • अपराध न्यूज

मोरङको लेटाङमा गत चैत ६ गते राती करिब ८:११ को समयमा स्थानीयले पहिलो गोली चलेको आवाज सुनेका थिए । यौन दुर्व्यवहार गर्ने शिक्षक मनोज पौडेललाई प्रहरीले विद्यालयबाट नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय लेटाङ पुर्याई सकेपछि आक्रोशित प्रदर्शनकारी र प्रहरीबिच झडपको क्रममा गोलीको आवाज सुनिएको थियो । जुन गोली प्रहरी जवान उर्मिला श्रेष्ठको घाटीमा लागेको थियो । 

स्थानीयले गोली कुन पक्षबाट चल्यो भनेर ठम्याउन सकेनन् । उर्मिलासहित ७ जनाको प्रहरी टोली अन्तिममा थिए । उर्मिलासँगको टोलीमा अन्य दुई महिला प्रहरीपनि थिए । दिनभरको तनावको स्थिति साम्य भएको ठानेर उर्मिलाको टोली इलाका प्रहरी कार्यालय आँउदै थियो ।

‘प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुङ्गामुढा गरिरहेका थिए, शिक्षकलाई गाडीमा हालेर प्रहरी निस्कन साथ पैदलमा रहेका प्रहरीमाथि आक्रमण हुन थाल्यो’ स्थानीय रूपा पुलामी मगर त्यो रात सम्झिदै भन्छिन्, ‘छतबाट घटना नियाल्दा, घरेलु हतियारसहित १२–१३ जनाको युवा समूहले प्रहरीलाई लखेटेको देखे ।’  ‘बिजुली थिएन अँध्यारोमा भागाभाग हुँदा एक्कासि तिहारमा पटका पड्के जस्तो आवाज आयो ।’

‘मार... मार.... हान.. हान... भन्दै युवाहरू चिच्याइरहेका थिए’ उनले भनिन् , ‘पछि टर्चको लाइटले हेर्दा महिला प्रहरी रगताम्य भएर सडकमा ढलेकी रहेछिन् ।’  

एक्कासि १२–१३ जनाको समूहमा रहेका प्रर्दशनकारीले ८ बजे तिर उर्मिलाको टोलीमाथि ढुङ्गा, बियर र कोकको बोतलबाट आक्रमण गरेका थिए । स्थानीय प्रत्यक्षदर्शीका अनुसार आक्रमण गर्ने समूहमा अत्यन्तै बढी उत्तेजित युवाहरू थिए र उनीहरूले धेरै मापसे गरेका थिए । कतिपय बियर पिउँदै आन्दोलनमा आएका थिए ।

ति युवाको समूहले घरेलु हतियार छुरा, खुकुरी, भाला र रड जस्ता हतियार लिएर प्रहरीलाई खेदेका थिए । भागाभाग हुने क्रममा एक्कासि अँध्यारो झाडी जस्तो ठाँउबाट गोली पड्केको आवाज आएको थियो । जुन गोली ज्यान बचाउन भाग्दै गरेकी उर्मिलाको घाटीमा लाग्न पुग्यो । उनी त्यही ढलिन् । उर्मिलासँगै रहेकी अर्की एक महिला प्रहरीलाई प्रदर्शनकारीले लडाएर बास र ढुङ्गाले आक्रमण गरे । अन्य केही प्रहरी ज्यान जोगाउन घर भित्र छिरे । उर्मिला ढलेको ठाँउमा रगत बगेको देखेपछि मात्र प्रर्दशनकारी पछि हटेका थिए ।

Ghatana Sthal फायर खोल्नु भन्दा अगाडि गोली कताबाट पड्कियो भनेर प्रहरी समेत अनभिज्ञ थियो । उर्मिला ढलेको स्थानमा प्रहरीको मद्दत टोली पुग्न साथ सोही समूहले फेरी प्रहरीलाई लक्षित गरि आक्रमण गर्ने प्रयास गरेका थिए । हात हातमा फेरी छुरा, खुकुरी, लौरो, बास र भाला जस्ता हतियार बोकेका प्रदर्शनकारी जाइ लाग्न थालेपछि प्रहरी तर्फ थप क्षति नहोस भनेर फायर खोलिएको थियो । त्यस क्रममा प्रहरीले एसएलआर, पेस्तोल र सट गनबाट केही राउण्ड गोली फायर गरेको थियो । गोली लागेर केही प्रर्दशनकारी घाइते बनेका छन् ।

उर्मिला ढल्नु अघि गोली पड्केको आवाज सुनिए पनि सबैले प्रर्दशनकारीको धारिलो हतियारबाट घाटीमा आक्रमण हुँदा उनको ज्यान गएको प्रारम्भीक अनुमान गरेका थिए ।

उर्मिलाको घाटीमा भ्वाङनै (दुलो) परेको थियो । छुरा जस्तो भागले घाटीमा प्रहार गरेर छुरा घुमाएर भ्वाङ परेको हुन सक्ने अनुमान गरिएको थियो । 

तर प्रहरीले उर्मिलाको घाटीमा रहेको इन्जुरी (चोट) धारिलो हतियार बाहेक गोली प्रहारबाट पनि दुलो परेको हुन सक्ने आकलन गरेको थियो । घाटीको चोटलाई पोष्टमार्टमबाट दक्ष चिकित्सकले थप बिश्लेषण गर्दा चोटको कणमा बन्दुकबाट फायर हुँदा आउने ‘गन पाउडर’ को मात्रा देखिएपछि उनलाई गोली प्रहार भएको पुष्टि भयो ।

घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘घाटीको चोट हेर्दा उर्मिलामाथि भरुवा अर्थात १२ बोर जस्तो प्रकृतिको घरेलु निर्मित बन्दुकबाट गोली प्रहार भएको जस्तो देखिन्छ ।’  किन भने अन्य हतियारबाट फायर हुँदा लाग्ने चोट भन्दा उर्मिलाको विलकुल भिन्न छ । यसको अर्थ, प्रर्दशनकारीले भरुवा जस्तै प्रकृतिको बन्दुकबाटै उर्मिलालाई निशाना बनाई गोली चलाएका थिए । 

Bottels ‘बन्दुक चलाउने व्यक्तिले उर्मिलालाई करिब ८ देखि १५ मिटरको रेन्ज भित्रबाट गोली फायर गरेको हाम्रो अनुमान छ’ ति प्रहरी अधिकृतले अपराध न्यूजसँग भने, ‘जसको कारण मृतकको घाटीमा सिधै गोली लागेर भ्वाङ परेको अवस्था छ ।’ 

अर्काे तर्फ, प्रहरी जवान उर्मिलालाई लागेको गोली अन्य बन्दुकमा लाग्ने भन्दा फरक छ । सामान्यता भरुवा बन्दुकमा बारुदको मद्धतबाट फलामका टुक्रालाई (छर्रा) गोलीको रुपमा प्रयोग गरेर जंगली जनावरमाथि फायर गरिने चलन छ । यो घटनामा भरुवा बन्दुक प्रयोग भएको अवस्था छैन । किन भने मृतक प्रहरी जवानको घाटीमा मात्र चोट छ ।

‘जंगलमा सिकार खेल्न प्रयोग हुने अर्काे बन्दुक हो, १२ बोर । यो बन्दुक जसमा बारुद हालेर फलामको ब्यारिङलाई गोली बनाइन्छ । उर्मिलाको घाटीमा लागेको चोटको आकार हेर्दा ठुलो खालको ब्यारिङ गोलीको रुपमा प्रयोग भएको र त्यसैले उनको घाटीमा गहिरो चोट बनाएको हाम्रो ठम्याई छ’  ति प्रहरी अधिकृत भन्छन् ।

लेटाङदेखि उत्तरी क्षेत्र बिशेष गरि घरेलु निर्मित भरुवा र १२ बोरको बन्दुक प्रयोग गरि जंगलमा सिकार खेल्ने गरिन्छ । 

त्यसो त प्रहरीले हत्यामा प्रयोग भएकै हतियार बरामद गर्न सकेको छैन तर लेटाङ नगर क्षेत्रमा अबैध चोरी सिकारी गर्नेहरुसँग भएका यस्ता प्रकृतिका बन्दुकहरु संकलन गरिरहेको छ । 

‘हामीले जंगल र शंकाष्पद व्यक्तिको घरमा सर्च गर्ने कार्य अझै जारी राखेका छौ’ अर्काे एक प्रहरी अधिकृत भन्छन्, ‘जसमा हामीले केही थान बन्दुक बरामद गरेका छौ ।’ जंगल क्षेत्रमा बेवारिसे अवस्थामा समेत केही बन्दुक फेला पारेका छन् । परिक्षणको लागि फरेन्सिक ल्याब पठाएका छौ । 

१ नं. प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले कोसी अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टले मृतक प्रहरी जवान उर्मिलाको ‘फाइयर आम इन्जुरी’ बाटै मृत्यु भएको बताए । ‘हामीले प्रहरी तर्फबाट फायर भएका हतियार समेत फरेन्सिक जाँच गर्यौ, प्रहरी तर्फबाट फायर भएको गोलीको (स्याम्पल) उनको चोटसँग म्याच गर्दैन’  बिसीले भने, ‘प्रहरीमाथि फायर भएको गोली प्रदर्शनकारीबाटै चलाइएको अहिलेसम्मको निस्कर्ष छ ।’

 ‘अहिले लेटाङ क्षेत्रमा रहेका सबै बैध अबैध हतियार संकलन गर्ने काम भइरहेको छ, हाम्रो अनुसन्धान अझै जारी छ’  डिआइजी बिसीले अपराध न्यूजलाई भने । 

१५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता 

महिला प्रहरीको हत्या गरिएको मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा १५ जनाविरुद्ध बुधबार जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय मोरङले प्रहरीको अनुसन्धान प्रतिवेदन (मिसिल)का आधारमा अभियोगपत्र तयार पारेर अदालतमा मुद्दा दायर गरेको हो। कर्तव्य ज्यान मुद्दाका १० जना अभियुक्तमात्रै पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार फरार रहेका ५ जना प्रतिवादीको खोजी जारी राखिएको छ।

मुद्दामा मोरङको मिक्लाजुङ गाउँपालिका-२ का २१ वर्षीय कान्छा भनिने कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका-५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेक मगर, धनकुटा घर भइ लेटाङ-५ मा बस्दै आएका २० वर्षीय सन्तोष कुँवर, ३२ वर्षीय राजकुमार भनिने कुमारबहादुर खोक्रेल, २० वर्षीय समीर राई, १८ वर्षीय कपिल नेपाली र २५ वर्षीय मनकुमार महरालाई प्रतिवादी बनाइएको छ।

त्यस्तै लेटाङ-५ का २९ वर्षीय लेखबहादुर मगर र १९ वर्षीय अनिल विश्वकर्मा, २० वर्षीय रविन तामाङ, १८ वर्षीय बसन्त राई, ३३ वर्षीय गोपाल श्रेष्ठ भनिने जितबहादुर श्रेष्ठ, १९ वर्षीया निशा पुलामी मगर र २० वर्षीय मनोज भनिने देवराज कार्की पनि मुद्दाका प्रतिवादी हुन्। मुद्दा दर्ता गरिएका अभियुक्तहरुलाई आगामी वैशाख ४ गते पुनः उपस्थित गराउने गरी प्रहरीकै जिम्मा लगाएर फिर्ता पठाइएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। 

 सम्बन्धित समाचार : 

लेटाङ घटना : ‘रक्सी पिएका युवाहरूले प्रहरीलाई लखेटी लखेटी आक्रमण गरे’

 

 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved