मोरङको पथरीशनिश्चरेमा मादक पदार्थ सेवन (मापसे) गरेका श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माको कुटाइबाट श्रीमती १९ वर्षीया पूजा विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङका अनुसार जयले गत पुस ३० गते प्लाष्टिकको पाइपले श्रीमती पूजालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए।
कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। गम्भीर अवस्थामा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकी पूजाको शनिबारसाँझ मृत्यु भएको डीएसपी मुकारुङले बताए। उनका अनुसार अस्पतालले उपचार सम्भव नहुने भन्दै घाइते पूजालाई घर फर्काइदिएको पाइएको छ।
जयविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाउने तयारी थालेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मापसे गरेका कारण उत्पन्न विवाद कुटपिटमा परिणत हुँदा ज्यानै जाने घटना भएको खुलेको छ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved