कालो बंगुरका पाठा (बच्चा) नेपालबाट भारततिर तस्करी हुने गरेको पाइएको छ। बंगुरको तस्करी पहिलो पटक पत्ता लागेको हो। गाई, गोरु, राँगा, भैँसी लगायतका चौपाया भने नेपालबाट तस्करी गर्दै अवैध तरिकाले भारत कटाउने गरिन्थ्यो। तर पूर्वी नेपालका धरान, दमक लगायतका सहरमा पाइने रैथाने जातका बंगुरका पाठा संकलन गरेर तस्करहरुले सुरक्षाकर्मीलाई छल्दै सीमा कटाएर भारत पुर्याउने गरेको फेला परेको छ।
मासुका लागि धराने कालो बंगुर प्रख्यात छ। धरान, दमक लगायतका विभिन्न सहरबाट संकलन गरिएका पाठा जुटको बोराभित्र राखेर नेपाल–भारत सीमा क्षेत्रमा पुर्याउने र त्यहाँबाट भारत कटाउने गरिएको फेला परेको हो।
तस्करको समूहले भारतको जोगवनीतिर कटाउन लागेको अवस्थामा ६० वटा बंगुरका पाठा विराटनगरबाट यो साता सशस्त्र प्रहरीले बरामद गरेको छ। तस्करीमा संलग्नहरु भने सशस्त्र प्रहरीलाई देख्नसाथ बंगुरका पाठा छाडेर फरार भएका थिए। सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्त नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट बंगुरका पाठा नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पाठा विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ।
सशस्त्रले बरामद गरेको पाठा नेपालमा प्रतिगोटा ५ हजार रूपैयाँसम्म पर्ने गरेको बताइन्छ। त्यही पाठा तस्करी गरेर भारत पुर्याउँदा भारतीय ८ हजार रूपैयाँभन्दा बढीमा बिक्री हुने गरेको पत्ता लागेको सशस्त्रले जनाएको छ। भारतीय ८ हजार रूपैयाँको नेपाली १२ हजार ८ सय रूपैयाँ हुन्छ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved