‘लकिङ सिस्टम’ तोडेर इन्धनको तस्करी

alt
  • चैत्र २, २०७७
  • अपराध न्यूज

विराटनगर महानगरपालिका–४ स्थित निगमको प्रदेश १ कार्यालय विराटनगर र मोरङ प्रहरीको संयुक्त टोलीले इन्धन तस्करीमा प्रयोग गरिएको को १ ख ५९१२ नम्बरको ट्यांकर नियन्त्रणमा लिएको छ । ट्यांकर पेट्रोलीय ढुवानी व्यवसायी चरणप्रीत सिंहको रहेको निगमले जनाएको छ । प्रहरीले इन्धन तस्करीको रहस्य बाहिर आएसँगै सम्पर्कविहीन बनेका उनको खोजी गरिरहेको छ । 

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार इन्धन तस्करीमा संलग्न ट्यांकरका चालक भारत अररीयास्थित मीरगञ्ज घर भएका १९ वर्षीय इमरोज आलम र सह–चालक २६ वर्षीय सजाद आलमलाई पनि पक्राउ गरिएको छ । ट्यांकरबाटै तस्करी गरेर नेपालबाट भारततिर लैजान लागिएको दुई हजार छ सय ५० लिटर डिजेल पनि बरामद गरिएको जानकारी उनले दिए । 

एसपी खड्काले नियन्त्रणमा लिइएको ट्यांकर, पक्राउ परेका चालक र सह–चालक तथा तस्करी गरेर भारत पु¥याउन खोजिएको डिजेल आवश्यक कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुले इन्धन तस्करी गरेर भारत लैजान खोजेको स्वीकार गरिसकेका छन् । उनीहरुमाथि निगमको विनियम तथा प्रचलित कानुन विपरीत पेट्रोलीयम पदार्थ अपचलन गरेर राजस्व चुहावट गरेको कसूरमा कारबाही हुने जनाइएको छ । 

आयल निगम विराटनगरका प्रवक्ता दिवस विष्टका अनुसार भारतको बरौनी डिपोबाट २० हजार लिटर (२० के एल) पेट्रोल लोड गरेर उक्त ट्यांकर शुक्रबार विराटनगर आइपुगेको हो । ‘आवश्यक चेकजाँचपछि ट्यांकरलाई पेट्रोल अनलोडका लागि सुनसरीको इटहरी आसपासका चारवटा पेट्रोल पम्पमा पठाइएको थियो,’ उनले भने, ‘डिलर (पेट्रोल पम्प) मा पेट्रोल खन्याइसकेर खाली फर्किएको ट्यांकरमा चाबी लगाउन खोज्दा तस्करीको डिजेल रहेको पाइयो ।’ 

Pakrau विष्टका अनुसार इन्धनको चोरी रोक्न ट्यांकरमा ‘लकिङ सिस्टम’ जडान गरिएको छ । उक्त ‘लक’ खोल्ने चाबी (मास्टर कि) भने बरौनी डिपो र नेपाल आयल निगमसँग मात्रै हुन्छ । उनका अनुसार बरौनी–विराटनगर आवतजावत गर्दा चालक वा कसैले ट्यांकरमा जडान गरिएको उक्त ‘लक’ खोल्न सक्दैनन् । खोल्नका लागि चाबी आवश्यक पर्छ । 

प्रवक्ता विष्टका अनुसार बरौनीदेखि लिएर नेपाल आइसकेपछि निगमबाट ‘लक’ खोलेर सम्बन्धित डिलर (पेट्रोल पम्प)मा इन्धन खन्याउनलाई ट्यांकर पठाउने गरिन्छ । नेपालबाट खाली फर्किदा पनि ट्यांकरलाई ‘लक’ गरेर पठाइन्छ । बरौनी पुगेपछि त्यसलाई खोलेर इन्धन लोड गर्दै ट्यांकरलाई पुनः ‘लक’ गरेर भारतबाट नेपालतर्फ इन्धन पठाउने गरिएको जानकारी विष्टले दिए ।  

‘ट्यांकरबाट अत्याधिक मात्रामा हुने इन्धनको चोरी रोक्न ‘लकिङ सिस्टम’ सुरु गरिएको हो । त्यसलाई खोल्ने चाबी बरौनी डिपो र निगमसँग मात्रै हुन्छ,’ उनले भने, ‘बीचमा चालक वा कसैले खोल्न चाहेमा सम्भव छैन । तर डिलरमा खाली गर्न पठाएका बेला इन्धन भरेर नेपालबाट भारततिर तस्करी हुने गरेको पाइयो ।’ 

नेपाल आइपुगेपछि ट्यांकर खाली गर्न पठाएका समयमा बीचबाट कुनै पम्पदेखि इन्धन भरेर तस्करी गर्ने गरेको पाइएको प्रवक्ता विष्टको भनाइ छ । बरौनी डिपोमा इन्धन भर्न पठाउनलाई ‘लक’ गर्न खोज्दा उक्त ट्यांकरमा तस्करीको डिजेल फेला परेको जानकारी उनले दिए । ‘बरौनी पठाउन ट्यांकरलाई ‘लक’ गर्ने क्रममा डिजेल बाहिर निस्कियो,’ उनले भने, ‘खाली भनिएको ट्यांकरबाट डिजेल निस्किएपछि छानबिन थाल्दा तस्करी गरेर भारत लैजान खोजेको पाइयो ।’  

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved