३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर हेडक्वार्टर गएँ। त्यहाँ जागिर छाड्ने प्रायः सिपाही हवलदार दर्जाका ३०-३५ जना भेटेँ। धेरै जसो चिनेका अनुहार। कति त एउटै युनिटमा सङगै बसेका । कोही १६ वर्ष पुर्याएर छोडेका, कोही १०-११ वर्ष अनि कोही कोही त ५ वर्ष भन्दा पनि कम । प्रक्रिया अनुसार किताब खाना गएँ। त्यहाँ त झन् ३ वटै सुरक्षा निकायका गरी झन्डै १५० जना जतिको हुल। सन्चकोश , नागरिक लगानी कोष , वाणिज्य बैङ्कमा पनि त्यस्तै।निजामती ,शिक्षक र अन्य निकाय का निकै कम जागिर छाड्ने कर्मचारीहरू सुरक्षा निकायको दाइजोमा। आफूले चिनेका जबानहरुलाउ सोधेँ । प्राय उत्तर एउटै थियो ! के गर्नु सर , जागिर खान त मन थियो नि, तर तलब नै कम १८ हजार तलबले के गर्नु बच्चाको फी, खाजा ,पोसाक ,श्रीमतीलाई लुगा , घरको खाना खर्च ,औषधि उपचार घर भाडा गर्दा तलब ले त एक छेउ पनि पुग्दैन । पाएको तलब त १५ दिन मै सकिन्छ। अब केही त गर्नु पर्ला, खाडी मुलुक तिर सेक्युरिटीमा जानुपर्ला ! मैले मनमनै हिसाब गरेँ । सबै घर खर्च जोड्दा न्यूनतम पनि ४० हजार आउँदो रहेछ। यसरी मानसिक तनावमा भएको सिपाहीको मनोबल के हुने ? अनि आर्थिक समस्या बाट गुज्रिरहेको सिपाहीबाट कस्तो परफर्मेन्सको अपेक्षा गर्ने ?
मानसिक तनाव बाट ग्रस्त सिपाही कोही हाइपर टेन्सन कोही सुगर र डिप्रेसनका रोगी, कति त मानसिक रोगी भएर बिछिप्त अवस्था रहेका पनि छन् । देश र जनताको सेवा गर्न भनेर आदर्श बोले पनि फौजमा जागिर खानुको मुख्य कारण बेरोजगारी नै हो। तर हिजो आज फौजको जागिर प्रति आकर्षण घट्दो छ।
कति अवस्थामा त विज्ञापन गरेको सङ्ख्या जति पनि निवेदन नपर्दा पटक पटक विज्ञापनको म्याद थप्नु परेको छ। हिजो आज युवाहरूको सबैभन्दा कम प्राथमिकतामा पर्छ, फौजी जागिर। सार्क राष्ट्रको त कुरै छाडौँ , भारतमा सिपाहीको सुरु तलब स्केल ४०हजार भारु छ जुन नेपालको भन्दा साढे तीन गुना ज्यादा छ। कम तलबको अतिरिक्त जागिर छाड्नुका अन्य सहायक कारण पनि छन्। १८ घण्टा सम्म डिउटी, छुट्टी कम मिल्नु, राजनैतिक हस्तक्षेप आदि। तर मूल कारण भनेको आर्थिक नै हो। तर सरकार र जिम्मेवार निकायमा बसेकाले यो समस्या प्रति चासो दिएको पाइँदैन।
एउटा जबान उत्पादन गर्न राज्यको लाखौँ खर्च हुन्छ। यसरी हेर्दा समय अगाडि नै सुरक्षाकर्मिहरुले जागिर छोड्दा राज्यलाई वार्षिक अरबौँ नोक्सान हुन्छ। खाली ठाउँमा पुन भर्ना गर्दा उसलाई तालिम दिँदा कति खर्च हुन्छ एउटा सुरक्षा कर्मचारीबाट ३४-३५ बर्स सम्म राज्यले मजाले उपयोगिता लिन सक्छ यदि उसलाई जिबनयापन गर्न पुग्ने तलब सुविधा दिनु हो भने।
यो हिसाब ले हेर्ने हो भने तलब सुविधा बढाएर धेरै वर्ष सम्म काम लिनु नै सस्तो पर्छ राज्यलाई। यो कुरा सरकार चलाउने हरुले बुझ्न आवश्यक छ। फौजमा कडा अनुशासन हुन्छ र हुनुपनी पर्छ। अन्य निकायमा जस्तो असन्तुष्टि जाहेर गर्न पाइँदैन। तसर्थ विकल्पमा निम्न तहका सुरक्षाकर्मचारीले राजीनामालाई रोज्छन् । अनि बाध्यता देश सेवा गर्ने यति राम्रो अवसर छाडेर जहान परिबार बाट टाढा खाडी मुलुकमा दरबान हुन जान्छन्।यो उनीहरूको रहर हैन, विवशता हो।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved