६ हजार केजी अलैँची लुटपाटको ‘अप्रेसन ब्ल्याक गोल्ड’, जहाँ पत्रकारसम्मको संलग्नता भेटियो

alt
  • माघ १६, २०७७
  • अपराध न्यूज

इटहरी प्रहरीले ६ हजार केजी अलैँची लुटपाटको एउटा घटनामा सफलता हात पारेको छ । गत पुस ४ गते खोटाङका ५० भन्दा बढी कृषकको एक सय ५० मन (६ हजार केजी) अलैँची चोरीमा संलग्नमध्ये चार जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन केसीका अनुसार चोरीमा संलग्नमध्ये मुख्य योजनाकार फरार छन् । फरार ती व्यक्ति नै यो लुटपाटका मुख्य योजनाकार भएको केसीको भनाइ छ । पक्राउ परेकामध्ये एक जना सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य, नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयद्धारा जारी भएको पत्रकार परिचयपत्र बाहक जन्तेढुङ्गा साप्ताहिकका दुई जना पत्रकार मातृकाप्रसाद पोखरेल र केशव दाहाल रहेको इटहरी प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये केही आर्थिक प्रलोभनमा परेर चोरीमा संलग्न भएकाले सबैलाई कानुन अनुसार कारबाही हुने डिएसपी केसीले जानकारी दिए । 

यसरी भयो चोरी

इटहरी प्रहरीका अनुसार हालसम्म फरार रहेका यो घटनाका मुख्य योजनाकारले खोटाङका एक जना अलैँची किसान युवराज राईलाई फोन गर्छन ।  बजारमा चल्तीको मूल्यभन्दा बढीमा अलैँची  किन्ने भन्दै ती योजनाकारले प्रलोभन देखाएपछि उनलाई अलैँची  गाउँमा सङ्कलन गरेर सुनसरीको इटहरीमा ल्याउन राजी गराउछन् । त्यही बमोजिम यो घटनामा पीडितसमेत रहका युवराज राईले गाउँमा भएका किसानबाट एक सय ५० मन अलैँची सङ्कलन गरेर इटहरी ल्याउने तयारी गर्छन । उनले खोटाङको साकेला गाउँपालिका वडा नम्बर २ बस्ने रञ्जित राई, युवराज राई र अन्य चार जनलाई सो अलैँची गत पुस ४ गते बिक्री गर्ने उद्देश्यका साथ ट्रकमा हालेर सुनसरीको इटहरी पठाउँछन् । 

उनीहरू त्यो अलैँची लिएर इटहरी आउँदै गर्दा यो घटनामा पुनः एक जना पात्र थपिन्छन् । इटहरी आउँदै गर्दा आफू साहु भएको बताउने दीपककुमार घिमिरे नाम बताउने एक जनाले फोन गर्छन् । घिमिरेले आफू अलैँची व्यवसायी भएको र आफ्नो गोदाम इटहरी उपमहानगरपालिका वडा नम्बर ५ जनता बस्तीमा रहेको बताउँछन् । त्यति मात्र होइन, घिमिरेले आफ्नो गोदाम सोही ठाउँमा रहेको शेषराज गुरुङको घरमा रहेको युवराज राईलाई बताउँछन् ।

सोही बमोजिम उनीहरू शनिवार अलैँची लिएर घिमिरेले बताएको ठाउँमा पुग्दछन् । त्यहाँ पुग्दा पुनः यो लुटपाटको योजनामा एक पात्र थपिन्छन् । ती पात्र एक वृद्ध हुन् । घिमिरे र ती वृद्धलाई युवराज राई समेतको टोलीले जोखेर अलैँची दिन्छन् । त्यसपछि घिमिरेले उनीहरूलाई आज शनिवार बैङ्क बन्द छ भोलि पैसा लिन आउनु भन्दै त्यहाँबाट पठाउँछन् । आफू पनि सटर बन्द गरेर त्यहाँबाट निस्कन्छन् ।

Black Gold (2) आइतबारका दिन युवराजहरूले थाहा पाउँछन् कि ती व्यापारी नभई लुटेरा समूह रहेछन् । उनीहरू आइतबार पैसा लिन पाउने आशाका साथ त्यहाँ जान्छन् । अलैँची धनीहरू आइतबार त्यहाँ पुग्दा अलैँची राति नै गोदामबाट गायब भएको थाहा पाउँछन् । त्यहाँ अलैँची र अलैँची किन्ने व्यवसायी भनिने घिमिरेलाई नदेखेपछि उनीहरूले फोन गर्छन् । बारम्बार फोन गर्दा पनि उनको फोन ‘स्विच अफ’ हुन्छ । त्यसपछि उनीहरूले आफूहरू लुटिएको थाहा पाउँछन् र इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिन पुस ७ गते पुग्छन् ।

अप्रेसन ब्ल्याक गोल्ड

पुस ४ गते अलैँची लुटपाट भएपछि इटहरीका डिएसपी अर्जुन केसीको कमान्डमा पुस ७ गते नै १ नम्बर प्रदेश प्रहरीको रिट समूह समेत सहभागी भएर अप्रेसन ब्ल्याक गोल्डले काम गर्न थाल्छ । यो क्रममा त्यत्रो अलैँची कहाँ लागे भनेर बजार र सडकहरूको सिसिटिभी क्यामेराको फुटेज कलेक्सन गर्छन् । 

प्रहरीले अनुसन्धानको सुरुवात एउटा नम्बरबाट गर्छ । तर उक्त नम्बर अफ देखिएपछि सिमको नामबाट व्यक्तिको भेरिफाई गरिन्छ । तर जुन सिम निकाल्न प्रयोग भएको नागरिकताबाट थप ५० भन्दा धेरै सिम निकालिएको थाहा पाएपछि प्रहरीको लागि यो कि पोइन्ट बन्छ ।  त्यति मात्र होइन, उनीहरूले प्रयोग गरेको सो नागरिकता पनि ‘नक्कली’ भएको थाहा पाएपछि प्रहरी चकित हुन्छ । त्यत्तिकैमा प्रहरीलाई एक ‘क्लु’ हात पार्छ । 

सोही नम्बरको सिडिआर रिर्पाेटबाट प्रहरीले अलैँची लुटपाट भएपछि बोक्न प्रयोग भएको ट्रकको चालकलाई पक्राउ गर्छन् । ट्रक चालक मार्फत यो घटनामा संलग्नहरूको क्रमशः पहिचान खुल्दै जान्छ र पक्राउ पदै जान्छन् । ४ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गर्छ । 

प्रहरीले सुरुमा जुन नम्बर निकाल्न प्रयोग भएको नागरिकताबाटै बैङ्कमा खाता खोलोको समेत भेटाउँछ । त्यही नम्बरको सहायताले इटहरी प्रहरी र रिट समूहले घटनामा संलग्नहरूलाई पक्राउ गर्न सफल हुन्छ । 

लुटपाटमा सलग्नहरुलाई पक्राउ गर्न बनेको अप्रेसन ब्ल्याक गोल्डले ४० दिनमा अनुसन्धानको एउटा पाटो क्लियर गर्न सफल हुन्छ । तर यो लुटपाटमा संलग्न मुख्य योजनाकारलाई पक्राउ गरे मात्र अनुसन्धान पुरा हुने डिएसपी केसी बताउँछन् । 

यो समूहले लुटिएको तेस्रो दिनमै उक्त अलैँची इटहरी र धरानका दुई व्यवसायीलाई मनको २० हजारले बिक्री गरेका थिए । प्रहरीले १५० मनमा १२६ मन अलैँची बरामद गरिसकेको छ । ४ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले डाँका चोरी, ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र सङ्गठित अपराधमा म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved