मोरङमा अवैध घरेलु मदिराको ‘अपत्यारिलो’ कारोबार

alt
  • कार्तिक १९, २०७७
  • अपराध न्यूज

२०७६ माघ ५ गते सर्वोच्च अदालतको आदेशले जथाभाबी घरेलु मदिराजन्य पदार्थको विकृति रोक्न सरकाका निकायलाई आदेश दियो । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जाँड रक्सीको मनपरी उत्पादन, विक्री वितरणमा नियन्त्रण र अनुगमनमा कडाइ गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएका थिए ।

त्यसपछि गृह मन्त्रालय हुदै प्रहरी मार्फत देशभर कडाइ गर्न परिपत्र गरियो । तर सर्वोच्चले वर्जित गरेको कुरा मोरङमा भने खुलेआम घरेलु मदिरा उत्पादन भई ओसारपसार भइरहेको छ । 

मोरङको लक्ष्मीमार्ग, बेलबारी, लेटाङ, कानेपोखरी र पथरी घरेलु मदिरा उत्पादन हुने प्रमुख बजार मानिन्छ ।  यी ५ ठाउँबाट एकै दिन औसतमा ३ हजार लिटरसम्म अवैध घरेलु मदिरा उत्पादन हुने गर्छ । यहाँ उत्पादन भएका मदिरा विराटनगर, इटहरी, धरान लगायतका शहरमा खपत भइरहेका छन् ।

यी ठाउँमा अवैध रूपमा चलाइएका भट्टीबारे यकिन तथ्याङ्क नभए पनि प्रत्येक टोलमा ८/१० परिवारले व्यवसायीक रूपमै घरेलु मदिरा उत्पादन गर्ने गरेका छन् ।

यसरी उत्पादन गरिएको मदिरा प्रहरीकै ‘सेटिङ’ मा ओसारपसार हुने गरेको छ । जसमा मदिरा ओसारपसार गर्नेहरूले प्रहरीलाई मासिक पैसा बुझाउने गर्छन् ।

अहिले घरेलु मदिरा प्रति लिटर ६० देखि सय रुपैयाँसम्म खरिद बिक्री हुने गर्छ । लक्ष्मी मार्ग, बेलबारी, लेटाङ, कानेपोखरी र पथरीबाट उत्पादन हुने दैनिक ३ हजार लिटर मदिराको मूल्य अन्दाजी दुई लाख बराबरको हुने गर्छ । दैनिक लाखौँको कारोबार हुने मदिराबाट विभिन्न इलाका र प्रहरी चौकीले मासिक ३० देखि ६० हजारसम्म महिनावारी लिने गरेका छन् ।

मोरङको बेलबारी, पथरी र लेटाङमा रहेको इलाका प्रहरी कार्यालयको इन्चार्ज बन्ने दौडधुप घरेलु मदिराको लाइनको पैसा कमाइ एउटा प्रमुख कारण मानिन्छ ।

यहाँ उत्पादन भएका मदिरा सबैभन्दा बढी खपत बिराटनगरमा हुने गर्छ । कुल उत्पादनको ७० प्रतिशत मदिरा बिराटनगरदेखि जोगवनी एरिया भित्रका होटलहरुमा पुराइन्छ । स्रोतका अनुसार बिराटनगरमा विभिन्न बाटो हुँदै दैनिक १५ सय लिटर घरेलु मदिरा सप्लाई हुने गरेको छ । चाडपर्वमा यसको खपत दोब्बर हुने गरेको छ ।

जसको लागी सेटिङ भएको प्रहरीको एरियाबाट दिउसै ट्याम्पो, सिटी सफारी, साइकल र मोटरसाइकल मार्फत मदिराका ‘भुल्डुङ’ विराटनगर पुराइन्छ । कतिपय ठाउँमा मध्य बिहानै मदिरा ओसारपसार हुने गर्छ ।

बिराटनगरसम्म मदिरा सप्लाई गर्न विभिन्न बाटो प्रयोग हुने गर्छन् । अवैध मदिरा बढी बेलबारी क्षेत्रको कसेनी र बाहुनी मार्ग हुँदै बिराटनगरको करसिया, जोगवनी, बिर्ता बजार र रंगेलीसम्म पुराइने गरिन्छ । पथरी क्षेत्रबाट उत्पादन भएका घरेलु मदिरा भने बिहानै पूर्वबाट विराटनगर छुट्ने बस मार्फत विराटनगर पुराइने गरिन्छ ।

Raske मदिरा ओसारपसारको विषयमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल अवैध मदिरा नियन्त्रणमा प्रहरी लागी परेको दाबी गर्छन् । ‘प्रहरीको आँखा छलेर ओसारपसार भएको हुन सक्छ’ ढकालले भने ‘बाँकी हामीले यस्ता मदिरा नियन्त्रणमा लिई राजस्व बुझाउने र नष्ट गर्ने कार्य गरिरहेका छौ ।’आफू बेलबारीमा हाजिर भएयता २२ सय लिटर र केही सवारी साधन राजस्वमा बुझाएको ढकाल बताउँछन् ।

यता इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीप गिरी पनि कानेपोखरी र पथरीमा घरेलु मदिरा उत्पादन भए पनि ओसारपसारको कार्यमा आफूले अत्यन्त कडा गरेको दाबी गर्छन् । ‘जातीय र सांस्कृतिक हिसाबले कोही कोहीले उत्पादन गरेका हुन्छन् र त्यो घरेलु रूपमै प्रयोग हुन्छ’ गिरीले अपराध न्यूजसँग भने ‘यसलाई हामीले नियमन गर्ने काम गरिरहेका छौ ।’

विषाक्त मदिरा

मोरङका यी क्षेत्रमा उत्पादन भएका मदिरा स्वास्थ्यका लागि अत्यन्त हानिकार भएको दाबी गरिएको छ । मदिरा उत्पादनका लागि ठुलो चूल्हो, दाउरा, भाँडा बर्तन, सख्खर, मर्चा, युरिया कृषि मल, खाने सोडा र औषधि प्रयोग गर्ने गरिएको छ । सख्खर घोलेर त्यसलाई कुहाउन वा मदिरा उत्पादनका लागि तयार गर्न मर्चा हाल्नु उपयुक्त तरिका भए पनि मर्चा नपाउने गरेकाले युरिया, खाने सोडा र औषधिसमेत हाल्ने चलन अहिले यी ठाउँमा बढेको पाइन्छ ।

जस कारण यस्तो मदिरा सेवन गरेका कारण मान्छेको ज्यान समेत जाने गरेको छ । यस्ता मदिरा सेवनले टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, त्यसपछि दृष्टि गुम्ने अनि अचेत हुने खालका लक्षण देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले समेत अध्ययन गर्दा अचेत भएर मृत्यु हुनेहरूको कारण विषाक्त मदिरा सेवन भएको उल्लेख छ ।

मोरङमा यस्ता विषाक्त मदिराको उत्पादन र कारोबार नियन्त्रण गर्न प्रहरीले काम नगरेको भने हैन । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काका अनुसार तिन महिनाको अवधिमा १७ सय लिटर मदिरा बरामद गरी नष्ट गरेको जानकारी दिए । यस्तै मदिरा ओसारपसारमा संलग्न ११ जना र केही सवारी साधन समेत नियन्त्रणमा लिई राजश्व कार्यालयलाई बुझाएको बताए ।

‘अवैध मदिरा ओसारपसार भइरहेको छैन भनेर म भन्दिन, तर प्रहरीले सकेसम्म नियन्त्रणमा लिने काम गरिरहेको छ’ उनले अपराध न्यूजसँग भने ‘आगामी दिनमा पनि प्रभावकारी रूपमा कार्य योजना बनाएर नियन्त्रणमा लिन्छौ ।’

प्रहरीको मिलेमतोमा यदि मदिरा ओसारपसार भए जो कोही कारबाहीको भागिदार हुने एसपी खड्काले स्पष्ट पारे ।

यता सरकारबाट अनुमतिपत्र नलिईकन वर्षमा ६ पटकसम्म पाँच लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन पाइने कानुनी व्यवस्था छ । यसरी व्यक्तिगत प्रयोजनको लागि उत्पादन गरेको रक्सीबारे अन्तशूल्क अधिकारीलाई सूचना दिनुपर्ने पनि कानुनमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

बलात्कारमा संलग्नलाई ...

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाब ...

१२ बोरको टोटा बन्दु ...

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प ...

सङ्खुवासभामा एम्बुले ...

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved