‘तीन घण्टाको पुजामा बस्न ५ हजारमा राजी भएकी थिइन किशोरी’

alt
  • आश्विन ७, २०७७
  • अपराध न्यूज

‘बली दिन भारत लैजाँदै गर्दा उद्धार गरिएकी सुनसरीको रामधुनी नगरपालिका ५ की १७ वर्षीय किशोरीलाई फकाउन उनकै एक छिमेकी संलग्न भएको अनुसन्धानबाट खुलेको छ । 
 
मोरङ प्रहरीको अनुसन्धानबाट लेटाङ ३ मोरङकी मनिका ढकाल जो सुनसरी रामधुनी–५ झुम्कामा डेरा गरी बस्नेले किशोरी र आमालाई पैसाको प्रलोभनमा पारेर भारत लैजाने योजना बनाएको देखिएको हो । मनिका किशोरीलाई फकाउन एक हप्तादेखि लागि परेकी थिइन । 
 
मनिकाले बिराटनगरको कुनै एक ठाउँमा पुजामा सहभागी भएर तीन घण्टामा घर फर्किने र त्यस बापत ५ हजार रुपैयाँ पाउने आश्वासन दिएको अनुसन्धानबाट खुलेको बताइएको छ । मनिका झुम्का बजारमा तरकारी बेच्ने काम गर्छिन् । 
 
मनिकाले किशोरीकी आमालाई समेत राजी बनाएकी थिइन । मनिका र छोरीसँग आमा समेत जाने अडान लिए पनि मनिकाले केही चिन्ता लिनु पदैन भनेर आमालाई सम्झाएकी थिइन । 
 
मनिकाको साथमा किशोरी असोज ४ गते आइतबारको बिहान झुम्का इटहरी हुँदै बस मार्फत विराटनगर पुगेका थिए । 
 
विराटनगरबाट सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल र तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल थपिन्छन् । उनीहरूले इस्लामपुर नाका हुँदै भारत छिराएको उनले पत्तै पाइनन्। इस्लामपुर–जोगबनी हुँदै ट्याम्पोमा २० किलोमिटर टाढा फारबिसगन्ज पुर्‍याए। 
 
त्यहाँबाट बसमा राखेर ४८ किलोमिटर दूरीको सिम्राहीसम्म लगे। त्यहाँ उत्रिएपछि ‘हाम्रा मान्छे आएनन्’ भन्ने गफ गरेको उनले सुनिन्। साइनबोर्डहरू हेर्दा भारत रहेको पनि पत्तो पाइन्। र, किशोरीले नयाँ जुक्ति फुराइन्। 
 
उनीहरूको आँखा छलेर फारबिसगन्ज आउने बस चढिन्। कुद्दै गरेको बस रोकेर ती तीनै जना त्यसमै चढे। बाटाभरि केही हुँदैन, जानुपर्छ भन्दै फकाए। उनले मानिनन्। जब फारबिसगन्ज बस आइपुग्यो, हतार–हतार हाम्फालिन्।
 
रिजर्भको ट्याम्पो चढेर तुरुन्तै जोगबनीतिर फर्किइन्। अर्को ट्याम्पोमा उनीहरूले पछ्याए। साँझ जोगबनी आइपुगेकी उनलाई प्रहरी र साना हातहरू नामक संस्थाका सीमामा परिचालित स्वयंसेवकले सोधी खोजी गरे र संरक्षणमा राखे। सँगै आइपुगेकी मनिकालाई पनि राखे। बाँकी दुई जना भने भाग्न सफल भए। प्रहरीले दुवै युवतीलाई भने पीडित ठानेको थियो। 
 
भोलिपल्ट किशोरीको बयानबाट मनिका पनि मतियार रहेको खुल्यो। र, प्रहरीले मनिकालाई सुमित र प्रदीपलाई फोन गरेर ‘उता जान प्रहरीले दिने भयो, उनी पनि राजी भइन्’ भन्न लगायो। दुवै जना मक्ख परेर त्यहाँ आइपुगे र प्रहरीले पक्राउ गर्‍यो। मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सुमित घटनाका मुख्य योजनाकार र प्रदीप उनका सहयोगी रहेको खुलेको छ। उनीहरूले तीन–चार लाख दिने भन्दै मनिकालाई किशोरी ल्याउन खेताला बनाएका थिए। 
 
गम्भीर अनुसन्धान गदै प्रहरी
 
जिल्ला प्रहरी कार्यालय मोरङले यस घटनालाई गम्भीर तवरले अनुसन्धान गरिरहेको छ । प्रहरीले भने यसलाई ‘बलि’ दिन लगिएको हुन सक्ने अनुमान गरेको छ। भारतमा यस्तो अन्धविश्वास व्याप्त छ। यस अघि काठमाडौँमा पनि एक मोडललाई यस्तै प्रकृतिको घटनाको शङ्का लागेपछि प्रहरीलाई जानकारी गराई केही व्यक्ति पक्राउ परेका थिए ।
 
प्रहरीका अनुसार किशोरीलाई भारतसम्म पुराउने कार्यमा संलग्न मनिका, सुमितकुमार र प्रदीपकुमारले पैसाको प्रलोभनमा परेको बयान समेत दिएका छन् । 
 
मनिकाले बाटोमा नाप्ने टेप किनेर किशोरीले उचाइसमेत नापेकी थिइन्। पूजामा बस्न ५-२ फिट उचाइ भएकी केटी चाहिन्छ भन्दै नापेकी थिइन् । रजस्वला भए-नभएबारे पनि सोधिखोजी गरिएको कारण बलीको आशङ्का गर्ने प्रशस्त ठाउँ रहेको प्रहरीको भनाई छ । 

मनिकाले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नुपर्ने र डराउन नहुने भन्दै सिकाएको पनि उद्धार गरिएकी किशोरीले प्रहरीलाई बयान दिएकी छिन्। मोरङका एसपी सन्तोष खड्काले घटनामा संलग्नहरूको अरू ‘कनेक्सन’ खोतल्न काम भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved