फिरौतीको बैना रकमले पेस्तोल खरिद, बाँकी रकम नदिएपछि घरमा गोली ‘फायर’

alt
  • भदौ १७, २०७७
  • अपराध न्यूज

विराटनगरका व्यापारी विवेक मालपानीलाई एक वर्षअघि ९८४०४१८२३० नम्बरको मोबाइलबाट १० लाख रुपैयाँ माग्दै धम्कीपूर्ण फोन आयो । 

फोन गर्ने बिराटनगरका २७ वर्षीय अभिषेक राय थिए । रायले पैसा नदिए ज्यान मार्नेसम्मको धम्की दिए ।

व्यवसायी मालपानी विराटनगरमा गुट्खा, चालम र तेलको डिलर लगायतका व्यवसाय सञ्चालन गर्छन् । धम्कीसँगै डराएका मालपानीले त्यतिबेलै रायलाई गुद्री बजारमा बोलाएर एक लाख रुपैयाँ बुझाए । तर यो बिषय उनले प्रहरीमा भने खबर गरेनन् । उल्टै बाँकी रकम पछि उपलब्ध गराउने सर्त राखेर फर्किए । 

पुनः उनलाई गत असार २४ गते १० लाख रुपैयाँ माग्दै त्यही नम्बरबाट रायले फोन गरे । उनले त्यसको पर्सिपल्ट असार २६ गते कञ्चनबारीको नहरमा बोलाएर त्यही अभिषेक रायलाई थप चार लाख रुपैयाँ दिए । 

त्यस्तै विराटनगरका अर्का व्यापारी रतन पारकलाई त्यही नम्बरबाट साउन १३ गते १० लाखको ‘डिमान्ड’ गर्दै नदिए ज्यान मार्ने धम्कीसहितको फोन गयो । पारक विराटनगरमा इलेक्ट्रोनिक सामग्री र कम्प्युटरको व्यापार गर्छन् । उक्त घटनाबाट डराएका उनी साउन १६ गते कांग्रेसका एक नेताकहाँ पुगे । त्यसपछि तिनै नेताको सहयोग र सल्लाहमा पारक प्रहरीमा पुगेको पाइएको छ । 

घटनाको सुराक पाएको प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढायो । ‘दुवै व्यापरीलाई धम्क्याएको मोबाइल नम्बर र धम्क्याउने शैली एउटै भएपछि अनुसन्धान तीव्र पारिएको थियो,’ प्रहरीका एक अधिकृतले भने, ‘त्यसपछि खोजी गर्दै जाँदा अभिषेक राय समूहको पर्दाफास भयो ।’ 

अभिषेक समूहका एक जना भने भारतीय नागरिक हुन् । भारत बिहार सितामडी घर भएका २७ वर्षीय राजु साह, मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भनिने रविन शर्मा र सप्तरीको बोदेवसाइन नगरपालिका–८ का २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साह रहेको प्रहरी अनुसन्धानले पत्ता लगायो । 

त्यस्तै यही भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँ चोरी भएको थियो । उक्त चोरीको घटनामा पनि अभिषेककै समूहको संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।

 भारतीय नागरिक राजु त्यही पसलमा काम गर्ने र सबै कुरा जान्ने भएकाले चोरीको योजना बनाएको प्रहरीको दाबी छ ।

धम्क्याउँदै असुलेको र चोरी गरेकोमध्ये केही रकम उनीहरुले बैंकमासमेत राखेको पाइएपछि त्यस सम्बन्धमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । व्यापारीलाई धम्क्याउने र पैसा माग्ने तथा लिने काममा भने अभिषेक र रविन अघि बढ्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

तर्साउनलाई घरमा गोली ‘फायर’

अभिषेक समूहले पैसा मागेका व्यापारीको घर आसपास र कम्पाउण्डमा उनीहरुलाई त्रसित बनाउने गोली पड्काउने गरेको पनि खुलेको छ । साउन १६ गते राति ९ बजेतिर विराटनगरमै गोली पड्किएको खुलेपछि प्रहरीले त्यसमा संलग्नको खोजी तीव्र बनाएको थियो । उक्त गोली पैसा मागेको तीन दिनपछि त्यही समूहले मनोवैज्ञानिक हिसाबले त्रास सिर्जना गर्न पारकको घरको पर्खाललाई लक्षित गरेर पड्काएको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीले त्यतिबेला घटनास्थलबाट गोलीको खोका फेला पारेको थियो । तर त्यसभन्दा नौ महिनाअघि यही समूहले व्यापारी मालपानीको घरको पर्खाललाई पनि लक्षित गरेर गोली पड्काएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मालपानीले भने उक्त घटनाका बारेमा आफूले चाल नपाएको प्रहरीलाई बयान दिएका छन् ।  दुवै व्यापारीको घरको पर्खालमा पेस्तोलबाट गोलीले लागेको दोब पनि प्रहरीले भेटिसकेको छ । प्रहरीले अहिले बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने भएको छ । 

एक लाखमा पेस्तोल !

यो समूहले विशेष गरेर मध्यम वर्गका व्यापारीलाई लक्षित गरेर पैसा असुल्ने गरिरहेको प्रहरीले जनाएको छ । धम्क्याएर पैसा असुल्ने समूहको नेतृत्व गरेका अभिषेकले समूह चलाउन भारतबाट एक लाख रुपैयाँ खर्च गरेर पेस्तोल झिकाएको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । उनले पनि प्रहरीलाई त्यही कुरा बताएका छन् । ‘एक लाखमा भारतबाट पेस्तोल र ६ राउण्ड गोली झिकाएपछि एक वर्षदेखि समूह विस्तार गरेर धन्दा चलाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म तीन राउण्ड गोली विभिन्न ठाउँमा पड्काएर खपत गरिसकेको पनि खुलेको खुल्यो ।’ 

बाँकी रहेको तीन राउण्ड गोली प्रहरीले पेस्तोलसँगै बरामद गरेको छ । भारतमा हतियारको कारोबार गर्ने समूहसँग सम्पर्क बढाएर पेस्तोल झिकाएको पाइएको प्रहरीले जनाएको छ । भारतीय समूहका सदस्यले भारतदेखि विराटनगरको कोशी प्रोजेक्टसम्म ल्याइदिएपछि त्यहाँबाट अभिषेकले पेस्तोल लिएर आएको खुलेको प्रहरीका एक अधिकृतले बताए । 

Brt Crime (1) पक्राउ परेका सबैलाई बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । प्रहरीले एलेक्स भनिने रविनको घरबाट एउटा पेस्तोल र तीन राउन्ड गोली पनि बरामद गरेको छ । 

पक्राउ पर्नेमध्ये नन्दकिशोरको डेराबाट भारतीय र नेपाली रुपैयाँ गरेर ९७ हजार एक सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ । जसमा ४९ हजार चार सय ५० भारतीय रुपैयाँ रहेको मोरङका एसपी सन्तोष खड्काले बताए । रकम असुल्न प्रयोग गरिने को३२प ७५२५, को१५प २३१५ र को३६प २७६२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको उनले बताए ।

‘पैसा नदिए ज्यान मार्नेसम्मको धम्की पनि दिइरहेको पाइयो,’ उनले भने, ‘लुटपाट र चोरी पनि बढेको पाइएपछि विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।’ एसपी खड्काले गिरोहका मुख्य नाइके अभिषेक रहेको र हतियार देखाउँदै त्रसित बनाएर व्यापारीसँग रकम असुल्ने धन्दा उनकै योजनामा चलाइएको बताए ।

 

 

सम्बन्धित समाचारहरु

सङ्क्रमित सुरक्षाकर् ...

सुनसरीको बराहक्षेत्र आइसोलेसन सेन्टरमा सङ्क्रमितहरूका लागी उपलब्ध गराइएको विभिन्न सामाग्रीहरू चोरी भ ...

१६ वर्षीय बालिकाको ‘ ...

एक १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गरेको आरोपमा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबा ...

मोरङको कसेनी हत्या प ...

सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युव ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved